धरानः सुनसरी उद्योग वाणिज्य संघ धरानको नवनिवार्चित कार्यसमितिको पहिलो बैठकले महासचिव र कोषाध्यक्ष चयन गरेको छ । 

हिजो बिहिबार बसेको बैठकले महासचिव पदमा प्रभाव खतिवडा र कोषाध्यक्षमा शैलेश आचार्य (प्रमोद)लाई जिम्मेवारी दिने निर्णय गरेको संघका अध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिए । अन्य पदाधिकारीहरु पनि चाडै मनोनित गर्ने पनि नउले बताए । खतिवडा उद्योगबाट सदस्यमा निवार्चित भएका थिए भने आचार्य वाणिज्यतर्फबाट निवार्चित भएका थिए । 

निवार्चित कार्यसमितिको पदस्थापन सोमबार भएको थियो । संघमा अध्यक्ष मात्र प्रत्यक्ष निवार्चित हुने प्रावधान रहेको छ । बाँकी पदाधिकारीहरु निवार्चित सदस्यहरुमध्येबाट अध्यक्षको चाहना वमोजिम कार्यसमिति बैठकले मनोनित गर्ने चलन संघमा रहेको छ । संघको पदाधिकारीहरु पनि प्रत्यक्ष निवार्चित हुने प्रावधान बनाउनुपर्ने बहस चलेपनि निवार्चित अध्यक्षलाई काम गर्न सहज हुने भन्दै यो प्रावधान संशोधन हुनसकेको छैन ।