धरान: विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका नवनियुक्त उपकुलपति प्रा.डा.बिक्रम श्रेष्ठको स्वागतमा शुक्रबार अन्य तीनैजना पदाधिकारीहरु सहभागी भएर एउटा महत्वपुर्ण सन्देश दिए, ‘प्रतिष्ठानको पुरानो साख फर्काउनुछ, हामी साथ दिन्छौं ।’

भारतको एम्सको परिकल्पना गरेर स्थापना भएको विपी प्रतिष्ठानमा अध्यापन, उपचार र अनुसन्धान हुदैआएको छ । कुनै समय दक्षिण एसियामै प्रतिष्ठित मानिएको विपी प्रतिष्ठान पछिल्लो दशक भने कुशल नेतृत्वको अभावले जर्जर बन्दै गएको छ । पदाधिकारीहरुबीचको वेमेल, आर्थिक अनियमितता, मौलाइरहेको बेथिती, सेवा प्रवाहप्रति सेवाग्राहीहरुमा बढ्दो असन्तुष्टी, उपचारमा आवश्यक उपकरण तथा मेशिनहरुको अभावले प्रतिष्ठान आर्थिकरुपमा धरासायीसँगै प्रतिष्ठामा पनि ठुलो ह्रास आएको छ । 

शुक्रबार नयाँ उपकुलपतिको पदभार ग्रहणमा सरिक भएका शिक्षाध्यक्ष प्रा.डा.सञ्जिव शर्मा, रजिष्ट्रार प्रा.डा.सुर्यप्रसाद संग्रौला र अस्पताल निर्देशक डा.जगत नारायण प्रसादले नयाँ नेतृत्वलाई सफल बनाउन साथदिने र प्रतिष्ठानको पुरानै साख फर्कने आशा व्यक्त गरे । तीनै जना पदाधिकारीहरुले अझै करिब अढाई बर्ष नयाँ उपकुलपति प्रा.डा.श्रेष्ठसँगै काम गर्नुपर्नेछ । पदाधिकारीहरुबीच समन्वय र सहकार्य हुन सकेमा मात्र संस्थाले गति लिनेमा चारै जना विश्वस्त देखिए ।

bp

‘विपी प्रतिष्ठान फेरि आफ्नो पुरानो बाटोमा जान्छ, र धरानबासीको, हामी सबैको इच्छा अनुसार उन्नति गर्नेछ । यसमा हामी सबैको साथ सहयोग हुनेछ,’ शिक्षाध्यक्ष प्रा.डा.शर्माले भने,‘दिनरात काम गरेर भएपनि प्रतिठानलाई माथि लानुपर्छ ।’

रजिष्ट्रार प्रा.डा.संग्रौलाले पनि प्रतिष्ठानले सफल नेतृत्व आएको भन्दै प्रतिष्ठानलाई अघि बढाउन सधै साथ रहने प्रतिवद्धता जनाए । ‘हामी सबै तपाईको छहारीमा बसेर नियमपुर्वक काम गर्न चाहन्छौं । प्रतिष्ठनलाई अघि बढाउने दिशामा हाम्रो सधै साथ रहने कुरा प्रतिवद्धता जनाउछु,’ उनले पनि भने ।

यस्तै, अस्पतला निर्देशक डा जगत नारायण प्रसादले पाँच बर्ष रेक्टरकोरुपमा सफल भएको अनुभव, दुरदृष्टि र सफल नेतृत्वले प्रतिष्ठानले पुरानो अवस्थामा फर्कने विश्वास व्यक्त गरे । ‘तपाई प्रतिष्ठान मोटो हात्ति हो, अहिले दुब्लाएको छ, त्यसलाई मोटाउने योजना मसँग छ भन्नुभएको छ, त्यो योजना कार्यान्वयन गरेर हात्ति मोटाउनेछ, हामी विश्वस्त छौं,’ उनले भने,‘अढाई बर्ष कार्यकाल छ । यो समयमा नै पहिलाको हात्ति फर्कनेछ । अस्पताल प्रशासनको तर्फबाट तपाईको सोच पारित गर्न प्रतिवद्ध छौं ।’

शिक्षक कर्मचारी पनि आशावादी

कर्मचारी कल्याण समाजकी अध्यक्ष कविता ढकालले उपकुलपति श्रेष्ठको स्वच्छ छविसँगै धराने भएको नाताले पनि विपी प्रतिष्ठान उँभो लाग्छ भन्नेमा आफुहरु आशावादी भएको बताइन् । सही काममा सदैव साथ र गलत काम हुँदा खबरदारी हुने पनि उनले बताइन् ।

‘उहाँले नियम, कानुनलाई पालना गराएर यहाँको बेथितीहरु अन्त्य गर्नुहुनेछ र पहिलाकै स्थितिमा विपीलाई पुर्याउनुहुनेछ भन्नेमा आशावादी छौं,’ उनले भनिन्,‘सामान बिग्रेको छ, एमआरआई मेशिन छैन, सेवा चुस्तदुरुस्त बनाउनुपर्नेछ, भवन मर्मत गर्नुपर्नेछ । शिक्षक, कर्मचारीहरुको सेवा सुविधा पुरा गर्नुहुन्छ भन्ने पनि आशा छ ।’ 

यस्तै, शिक्षक कल्याण समाजका पुर्वअध्यक्ष डा.विष्णु पोखरेलले पनि स्वच्छ छवि भएका व्यक्तिलाई सरकारले नियुक्त गरेको र पदाधिकारीहरुबीच सुमधुर सम्बन्ध कायम भएर नयाँ आयाम थपिने अपेक्षा व्यक्त गरे । ‘उहाँहरुको समन्वयले बेथितीहरु समाधान गर्दै प्रतिष्ठानलाई नयाँ उचाई लैजानुहुनेछ, संस्थामा आर्थिक अभाव, शैक्षिक कार्यक्रमको अभाव पुुरा हुने विश्वास छ,’ उनले भने, ‘बाटो निक्कै कठिन छ, तर ४ जना पदाधिकारीहरु निष्ठावान भएकोले असम्भव छैन ।’

भिडियोः