धरान: विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका नवनियुक्त उपकुलपति प्रा.डा.बिक्रम श्रेष्ठले पदभार ग्रहण गरेका छन् ।

उपकुलपति प्रा.डा.श्रेष्ठलाई प्रतिष्ठानस्थित उपकुलपति कार्यालय परिसरमा शिक्षाध्यक्ष प्रा.डा.सञ्जिव शर्मा, रजिष्ट्रार प्रा.डा.सुर्यप्रसाद संग्रौला, अस्पताल निर्देशक डा.जगतनारायण प्रसादसहित कर्मचारी, चिकित्सकहरुले भव्य स्वागत गरेका थिए ।

पदभार ग्रहणपश्चात सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उपकुलपति प्रा.डा.श्रेष्ठले ‘म नभनि हामी’ भनेर पदाधिकारीहरुसँग मिलेर काम गर्ने प्रतिवद्धता जनाए । उनले भने,‘आजसम्म हामीले जे जति काम गर्यौं, काम सम्झेर गर्यौ, अब धर्म सम्झेर गछौं । यति भएपछि प्रतिष्ठान कसरी अगाडि बढ्दैन हेरौं ? बढ्छ बढ्छ केही विकल्प छैन ।’ 

vc bikram copy

आफु उपकुलपति बन्नुअघि लगानी नगरी हुदैन भन्ने हल्ला सुनेपनि आफुले खर्च नगरी नै नियुक्ती पाएको पनि डा.श्रेष्ठले बताए । उनले पार्टी सभापति (देउवा), भाउजु (आरजु राणा) र स्वास्थ्यमन्त्रीसमेतलाई सोधेपनि सबैले ‘केही गर्नुपदैन’ भनेको बताए । पैसा नबुझाई पनि उपकुलपति बन्न सम्भव हुने रहेछ भन्ने प्रमाणित आफु बनेपछि भएको पनि उनले बताए । 

‘म लगानी गर्न नचाहने, सबैले सुनाएको के थियो भने लगानी नगरी बन्दैन । यो पटक मैले त लगानी गर्नुपरेन त, तपाईहरुले आफ्नो सुत्र लगाउनुस् त । नयाँ रेकर्ड बनेको छ,’ दाबीका साथ उपकुलपति प्रा.डा.श्रेष्ठले भने,‘मेरो प्रर्थना के थियो कि भोली काम गर्न मसँग रवाफ हुनुपर्छ । पैसा तिरेर आएको मान्छे र नतिरि आएको मान्छेमा काम गर्दा जागर फरक हुन्छ । मेरो प्रार्थना इश्वरले सुनिदिएको छ, मलाई समस्या परेन, मैले पैसा खर्च गर्नुपरेन ।’

vc3 copy

प्रतिष्ठानमा धेरै बर्षदेखि समस्या थपिदै आएको भन्दै उनले चार जना पदाधिकारीहरु बसेर सोच बनाउने र चिकित्सक, कर्मचारीसँग पनि छलफल,परामर्श गरेर क्रमशः समस्याहरुलाई समाधान गर्दै जाने श्रेष्ठले बताए । ‘आजको र एक बर्षमा वीपीमा ठिक मान्छे आएछ भन्ने बनाउछौं,’ उनले भने,‘उपकुलपति धेरै आए, तर मलाई यो पटक यस्तो फिल भएको छ कि यो पटक प्रतिष्ठान भित्र र बाहिरका मान्छे साँच्चै मनले खुशी भएको बुझेको छुँ । मेरो कर्तव्य उहाँहरुलाई निराश बनाउनुहुदैन ।’

भिडियो: