धरान: तत्कालिन राणा प्रधानमन्त्री चन्द्र शम्सेरले वि.स.१९५८ तिर जंगल फडानी गरेर सहर बसाउन लगाएका थिए । त्यही भएर हाल धरानको वडा नं ३ मा पर्ने पुरानो बजार क्षेत्रलाई चन्द्रपुर बजार नामकरण भएको हो ।
आधुनिक धरानको जग बसाल्ने चन्द्रपुर बजारको इतिहास र त्यसक्षेत्रमा रहेको नेवाः सँस्कृतिलाई प्रर्वद्धन गर्ने उद्देश्यले तीन दिने चन्द्रपुर जात्रा कार्यक्रम शुरु भएको छ । धरान उपमहानगरपालिका वडा नं ३ को आयोजनामा पहिलो पटक उत्सवकैरुपमा चन्द्रपुर जात्रा शुक्रबारदेखि शुरु भएको हो । उक्त जात्राको शुक्रबार एक समारोहबीच प्रमुख अतिथि एवं कोशी प्रदेशसभाकी सदस्य यशोदा कायस्थले दिप प्रज्वलन गरेर गरेकी थिइन् । पालिका तरकारी बजार पुर्वको जग्गामा जेसिसले निर्माण गरिदिदै गरेको डबलीमा जात्रा शुरु भएको हो ।
जंगल फडानी गरेर चन्द्रपुर बजार बसाल्न राणा प्रधानमन्त्री चन्द्र शम्सेरले सुब्बा रत्नप्रसाद श्रेष्ठलाई पठाएका थिए । तिनै सुब्बा रत्नप्रसादकी पनाती बुहारी प्रदेश सांसद कायस्थले चन्द्रपुर जात्रा उत्सवको उद्घाटन गर्ने अवसर पाएकी हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दे उनले भनिन्,‘जंगल फडानी गरेर धरानलाई सहरकोरुपमा स्थापित गर्ने मेरो आदरणीय ससुरा बुबाको पनि बुबा सुब्बा रत्नप्रसाद सुब्बाले आज धरानलाई जंगल फडानी गरेर सहरकोरुपमा स्थापित गर्ने पहिलो व्यक्तिकोरुपमा सरकारबाट हामीले कदरपत्र पनि पाएका थियौं ।’
सांसद कायस्थले सँस्कृतिका धनी नेवार समुदायको जात्रा तथा सँस्कृति काठमाण्डौंको वसन्तपुर क्षेत्रमा झल्किने गरेकोमा अहिले दोस्रो सहरकोरुपमा धरानलाई स्थापित गर्न युवाहरु लागिपरेको भन्दै प्रशंसा गरिन् । उनले युवाहरुको हौसला बढाउन कोशी प्रदेश सरकारबाट पनि बजेट ल्याएर सहयोग गरिरहेको बताइन् । उद्घाटन समारोहलाई वडा नं ३ का वडा सदस्य मिङ्मा भोटे र वडा ३ का पुर्वजनप्रतिनिधि विकास वनेपालीले पनि सम्बोधन गरेका थिए ।
भिडियो:
उद्घाटन समारोहमा समाजसेवी कृष्णप्रसाद श्रेष्ठलाई वडा कार्यालयले सम्मान गरेको थियो । प्रमुख अतिथि एवं सांसद कायस्थले सम्मानपत्र प्रदान गरेकी थिइन् । जात्राको पहिलो दिन प्रथम धिमे बाजा प्रतियोगिता पनि आयोजना भएको थियो । उक्त प्रतियोगितामा नेवाः साँस्कृतिक कला पुञ्जः धरान १० प्रथम भएको चन्द्रपुर जात्रा समितिका संयोजक अनिल मास्केले जानकारी दिए । यस्तै, नेवा देय् दबू धरान १५ दोस्रो र नेवा थपु गुथिं धरान ८ तेस्रो भएको थियो । ‘प्रथम, दोस्रो र तेस्रो हुने संस्थालाई क्रमशः नगद १० हजार, ७ हजार र ५ हजार पुरस्कार प्रदान गरिएको छ,’ समिति संयोजक मास्केले भने ।
ऐतिहासिक चन्द्रपुर बजार क्षेत्र धरानमा नेवाः सँस्कृतिको मुल थलोकोरुपमा रहेकोले ३ लाई साँस्कृतिक वडाकोरुपमा विकास गर्न जात्राको प्रारम्भ गरिएको वडाअध्यक्ष विद्या शाक्यको भनाई छ । जात्राको दोस्रो दिन शनिबार कृष्ण जन्माष्टमी उत्सव, बृहत लाखे प्रर्दशनी तथा अन्य जातीय साँस्कृतिक प्रर्दशनी हुनेछ भने तेस्रो तथा अन्तिम दिन आइतबार मौलिक साँस्कृतिक झाँकीसहित कृष्ण रथ यात्रा र रात्री लाखे समापनसँगै जात्राको समापन गरिने पनि वडाअध्यक्ष शाक्यले जानकारी दिए ।