धरान: मोटरसाइकलमा बुबासँगै खोलामा बगेर वेपत्ता भएकी धरान १६ की १९ बर्षीय अनिता राईको शव सप्तकोशी नदी किनारमा भेटिएको छ ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दिवस कुँवरका अनुसार बराहक्षेत्र ९ स्थित राजाबासमा अनिताको शव आज (आइतबार) बिहान फेला परेको हो । दाउरा खोज्न गएका स्थानीयवासीले बिहान करिब ८ बजेतिर शव देखेपछि प्रहरीमा खबर गरेको कुँवरले जानकारी दिए । ‘बराहक्षेत्र ९ राजावासमा शव भेटियो,’ उनले भने,‘दाउरा खोज्ने क्रममा स्थानीय देखेपछि प्रहरीमा खबर गरेका थिए ।’

प्रहरी निरीक्षक कुँवरका अनुसार कानुनी प्रक्रिया पुरा गरेर शवलाई धरान पठाउने तयारी भइरहेको छ । शुक्रबार मदन भण्डारी राजमार्गस्थित बराहक्षेत्र १ मा पर्ने दुधखोलाले मोटरसाइकलसहित बुबा जीवन राई र अनितालाई बगाएको थियो । उक्त खोला सप्तकोशीमा मिसिएको छ ।

बुबा जीवनलाई स्थानीय र प्रहरीले तत्काल उद्दार गरेपनि अनिता भने कोशीले बगाएर वेपत्ता बनाएको थियो । हिजो शनिबार दिनभर कायकको मद्दतले घटनास्थलदेखि राजाबाससम्म खोजी भएको थियो । आज पुनः राजाबासदेखि कोशी ब्यारेजसम्म खोजी कार्यमा प्रहरी खटिएको थियो ।