विराटनगरः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशसभामा रहेको आमसञ्चार विधेयकका विषयमा थप छलफल आवश्यक रहेको बताएका छन् ।
आज नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश समितिको ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री कार्कीले विधेयकको विषयमा थप छलफल गर्ने बताएका हुन् । उनले संसद भित्र प्रवेश गरिसकेको विषय सरकारको मात्रै विषय नभएकोले सरोकारवाला दलहरुसँग छलफल गरेर अगाडि बढ्ने पनि बताए ।
मुख्यमन्त्री कार्कीले आफू कोशी प्रदेशमा आएदेखि नै पत्रकारहरूको एउटा दर्बिलो संस्था बनाउने इच्छा रहेको उल्लेख गर्दै कानुन मार्फत नै संस्था बनाएर काम गर्ने सोचअनुरूप यो विधेयक ल्याएको जानकारी दिए । पत्रकारसँग जोडिएका सङ्घसंस्थाको चासो र सरोकार गम्भीरतापूर्वक आएकाले अब यसलाई थप छलफल गरेरै अगाडि बढाउने बताए ।
उनले आफू आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा हुँदा बनेको संस्था बीचैमा खारेज हुँदा सरकारवालाहरू मौन रहेकाले त्यसलाई परिपूर्ति गर्न कानुन मार्फत नै प्रयत्न गरेको स्मरण पनि गरे । उनले अहिले प्रदेश सभामा भएको विधेयकमा देखिएका विषयलाई छलफलका माध्यमबाट समाधान गरिने प्रयत्न गर्ने जानकारी दिए ।
उनले विधेयक थप छलफल गर्नुपर्ने अवस्थामा पुगेकोले पास हुन समय लाग्ने महासङ्का पदाधिकारी तथा सदस्यलाई जानकारी दिए । आफू प्रेस स्वतन्त्रता तथा संविधानले प्रत्याभूत गरेका अधिकारका विषयमा प्रतिबद्ध भएको उल्लेख गर्दै उनले पत्रकारहरूको मागलाई सकारात्मक रुपमा लिएको बताए । सो अवसरमा नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका अध्यक्ष भरत खड्का तथा महासचिव हिमा चेम्जोङले पत्रकारहरूका माग र सम्बोधन गर्नुपर्ने विषयका बारेमा संस्थागत धारणा राखेका थिए ।