धरान: चालु आर्थिक बर्षको बजेट, नीति तथा कार्यक्रम अनुमोदन हुने आशा गरिएको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक बुधबार एजेण्डामा प्रवेश नगरी स्थगित भएको छ ।
दुई घण्टा भन्दा बढी समय कार्यपालिका बैठक बसेपनि औपचारिकरुपमा एजेण्डामा प्रवेश नगरि बजेट निर्माणको प्रक्रिया र विधिबारे बहसमा केन्द्रीत भएको थियो । खास गरि बजेट निर्माण प्रक्रियामा एमालेबाट निवार्चित वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले चर्को असन्तुष्टी जनाउदै नीति तथा कार्यक्रम, आर्थिक विनियोजन विधेयकलगायतमा अध्ययन गर्न समय दिनुपर्ने माग गरेका थिए ।
एजेण्डामा प्रवेश नगरि लामो समय सवाल जवाफमा बितेपछि मेयर हर्कराज राई (साम्पाङ) ले शुक्रबार दिउँसो २ बजे पुनः बैठक बस्ने गरि कार्यपालिका बैठक स्थगित गरेका थिए । बैठकमा नीति तथा कार्यक्रम अनुमोदन गर्ने, बजेट सिलिङ पास गर्ने, ब्रेक डाउन भई आएका जति बजेट पास गर्नेदेखि कर्मचारी तह वृद्धि गर्ने, योजना अनुमोदन गर्ने, पालिका गान अनुमोदन गर्नेलगायत २६ एजेण्डा तय भएको थियो भने अर्को विविध एजेण्डा पनि रहेको थियो ।
बजेटबारे एमाले एकातिर, कांग्रेस र माओवादी मेयर साम्पाङसँगै
लामो समयसम्म स्वतन्त्रबाट निवार्चित मेयर हर्कराज राई (साम्पाङ)को विरुद्धमा सहकार्य गरेका प्रमुख राजनीतिक दलहरु एमाले, कांग्रेस र माओवादीबीच बजेटको बिषयले कित्ताकाटको अवस्था सृर्जना भएको छ ।
बजेटको बिषयमा एमाले एकातिर छ भने मेयर साम्पाङसँग उपमेयर र उनको पार्टी माओवादी, नेपाली कांग्रेस उभिएको छ । यद्यपी कार्यपालिका र नगरसभामा एमालेको बहुमत रहेकोले उसको समर्थन विना बजेट पारित हुने सम्भावना रहदैन ।
स्रोत अनुमान तथा सिलिङ समितिले अनुमोदन गरेको बजेटको आकार, मेयर भिजन र उपमेयर भिजनबारे माओवादी र कांग्रेसले पारित गरेर जानुपर्ने पक्षमा छ । नेकपा एमाले भने राजश्व परामर्श समितिले प्रस्ताव गरेको बजेटको सिमाभित्र रहेर बजेटको आकार बनाउनुपर्ने, घाटा बजेट ल्याउन नहुने, मेयर भिजन र उपमेयर भिजन हटाउनुपर्ने अडानमा छ ।
साथै, उनीहरुले नीति तथा कार्यक्रम, आर्थिक विनियोजन विधेयक पनि अध्ययन गर्न समय माग गर्दै बैठक सार्न अनुरोध गरेका थिए । बजेटको आकार बढाउदा राजश्व धेरै संकलन गर्नुपर्ने भएकोले कर वृद्धिको प्रस्ताव गरिएको भन्दै कर बढाउन नहुने पनि उनीहरुले धारणा राखेका थिए ।
उपमेयर संयोजक रहेको राजश्व परामर्श समितिले १ अर्ब ६० करोड हराहारीमा बजेट बनाउन प्रस्ताव गरेपनि स्रोत अनुमान तथा सिलिङ समितिले भने बजेट वृद्धि गरेर २ अर्ब २० करोड ७४ लाखको ल्याउने निर्णय गरेको थियो । उक्त निर्णयमा असहमति जनाउदै एमालेबाट सदस्य रहेका नरेश इवारम र सावित्री परियारले हस्ताक्षर गरेका छैनन् ।
बहुमत सदस्यले निर्णय गरेको उक्त बजेटको आकार र सिलिङ कार्यपालिकाबाट अनुमोदन नभै वडामा सिलिङ पठाएर विधि, प्रक्रिया मिचेको भन्दै बैठकमा एमालेबाट निवार्चित वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले कडा असन्तुष्टी जनाएका थिए । एमालेबाट निवार्चित वडाअध्यक्ष विवेक राई, जीवन सुवेदी, नेत्र काफ्ले, पुर्ण लिम्बुसँगै कार्यपालिका सदस्यहरु सावित्रा परियार, विकास भाटीलगायतले बोलेका थिए ।
वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुलाई पनि छुट्टै बजेट !
गत आर्थिक बर्षदेखि मेयर भिजन र उपमेयर भिजन शिर्षकमा राखिएको बजेट यो बर्ष निरन्तरता दिने कि नदिने भन्ने वहस चर्किएको बेला वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुको लागि पनि छुट्टै बजेट राख्ने समझदारी भएको खुलेको छ ।
बुधबारको कार्यपालिका बैठकमा मेयर र उपमेयर भिजनको बिषयले रस्साकस्सी परेपछि कांग्रेसबाट निवार्चित वडा १८ का अध्यक्ष तथा संसदीय दलका नेता नरेन्द्रकुमार राई (प्रविण)ले वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुलाई पनि छुट्टै बजेट राखिएको खुलासा गरेका हुन् । वडाअध्यक्षहरुको लागि १० करोड र कार्यपालिका सदस्यहरुलाई ४५ लाख छुट्याइएको उनको भनाई थियो । बजेट सिलिङ समितिबाट प्रमुख भिजनमा ३ करोड ५ लाख र उपप्रमुख भिजनमा २ करोड बजेट विनियोजन गरिएको छ ।
वडाअध्यक्ष राईले घाटा बजेट बनाएपनि सबै लागिपरेमा लक्ष्य भेट्याउने दाबी गर्दै भने,‘हामीले सत्य कुरा भन्नैपर्छ, १० करोड वडाअध्यक्षको लागि छुट्याएको हो, र ४५ लाख भनेको कार्यपालिका सदस्यलाई छुट्याएको छ । हेर्नुहोला, यो कुरा सबैलाई थाह छ ।’
बजेटको सिलिङकै कारण संसदीय दलको नेताको जिम्मेवारीबाट एमालेका नरेश इवारमले राजिनामा दिएको पनि उनले खुलाए । बजेटको सिलिङबारे सहमति जुटाउन इवारमले धेरै मेहनत गरेको तर पार्टीको दबाबकै कारण राजिनामा दिनुपरेको पनि अध्यक्ष राईको भनाई छ ।
माओवादीबाट निवार्चित वडा १७ का अध्यक्ष सुर्यबहादुर भटट्राई (मनोज)ले पनि १७ औं पटकसम्म सिलिङ समितिको बैठकमा एमालेबाट प्रतिनिधित्व गर्ने सदस्यहरुले निरन्तर हस्ताक्षर गरिरहेको तर पार्टीको आन्तरिक विवादको कारण १८ औं पटकको बैठकमा भने हस्ताक्षर नगरेको भन्दै कडा रोष प्रकट गरेका थिए ।
भिडियो:
भिडियो:
भिडियो: