धरान: जेन जी आन्दोलनको क्रममा इटहरी उपमहानगरपालिकामा आगजनी भएको छ भने २ जनाको ज्यान गएको छ ।
आक्रोशित प्रर्दशनकारीहरुले इटहरी उपमहानगर भित्र प्रवेश गरी मेयरको कार्यकक्षमा आगजनी गरेका थिए । प्रहरी गोली लागेर घाइते भएकामध्ये २ जनालाई उपचारको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको थियो । एक जनाको इटहरी सामुदायिक अस्पतालमा उपचारको लागि पठाइएको थियो ।
ती मध्ये धरान पठाएका घाइते अन्दाजी ३५/३६ बर्षका पुरुषको उपचारको क्रममा विपी प्रतिष्ठानका आकस्मिक कक्षमा निधन भएको प्रहरीले जनाएको छ । यस्तै, अर्का अन्दाजी २२/२३ बर्षका पुरुषको पनि प्रतिष्ठानमा नै उपचारको क्रममा मृत्यु भएको छ । दुवैको सनाखत हुन नसकेको पनि जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
आन्दोलन उग्र बन्दै गएपछि जिल्ला प्रशासनले उपमहानगरपालिका आसापसमा क्षेत्रमा कर्फ्यु आदेश जारी गरेका छन् । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले उत्तरतर्फ हलगडा नेपाली सेनाको ब्यारेकदेखि पारुहांग चोक, पुर्वतर्फ मिलन चोकदेखि जुटविकास भित्र, दक्षिणमा अख्तियार कार्यालय दक्षिण, यातायात कार्यालय, साथी पेट्रोल पम्प, पुष्पलाल चोक हुदै बसपार्क क्षेत्रभित्र र पश्चिममा कलंकी मोडदेखि जानता बस्तीभित्र चार किल्ला तोकेर अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरेका छन् ।
आन्दोलन अराजक बन्दै गएपछि सुनसरी प्रहरी प्रमुख एसपी सुमन कुमार तिम्सिना आफै कमाण्ड गरेर इटहरी पुगेका थिए । सुरक्षाकर्मीतर्फ पनि ठुलो संख्या प्रहरीहरु घाइते भएका छन् । इटहरीका मेयर हेमकर्ण पौडेलको घरमा ढुङ्गामुडा गर्न पछि हवाई फायर गरेको र केही व्यक्तिलाई नियन्त्रणमा लिएको प्रहरीको भनाई छ ।
आन्दोलनको क्रममा पक्राउ पर्नेहरुमा धनकुटाको छथरजोरपाटी गाउँपालिकाका २१ को अंकित भण्डारी, धनकुटा नगरपालिका ८ का २४ बर्षीय गोपी बस्नेत, धनकुटाकै महालक्ष्मी नगरपालिका १ घर भइ इटहरी ५ मा डेरा गरी बस्ने २९ बर्षीय रोशन कार्की, मोरङको सुन्दर हरैचा नगरपालिका ७ गोठगाउँका १९ बर्षकी कोमल मिश्र, धरान १८ का १९ बर्षीय मानस राई, सुन्दर हरैचा १० का १३ बर्षीय युविका महत, सुन्दर हरैचा १० कै १६ बर्षीय सन्जु छाला याख्खालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
यस्तै, भोजपुर हतुवागढि १ घर भइ इटहरी ४ मा डेरा गरी बस्ने १९ बर्षीय प्रवेश राई, २६ बर्षीय आश कुमार राई, इटहरी २ डेरा गरी बस्ने २१ बर्षीय भुपाल राई, इटहरी ९ मा डेरा गरी बस्ने मनोज आचार्य, १७ बर्षीय सरोज बुढाथोकी र १६ बर्षका सुसन खड्कालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।