धरान: सामाजिक सञ्जाल बन्दसँगै भ्रष्टचारको विरोध गर्दै आज बिहानदेखि शुरु भएको जेनजी प्रर्दशनले संघीय राजधानी काठमाण्डौं तनावग्रस्त बनेको छ । यता, धरानमा भने जेनजी आन्दोलन शान्तिपुर्णरुपमा भइरहेको छ ।
काठमाण्डौंमा संसद भवनभित्रै प्रर्दशनकारी छिरेपछि झडप र कफ्र्यु लागेको छ भने एक जनाको ज्यान पनि गएको छ । यता धरानमा भने अहिले भानुचोकमा जेनजी प्रर्दशन शान्तिपुर्णरुपमा भइरहेको छ । उनीहरुले भानुचोकदेखि छाताचोक जाने सडकमा कब्जा जमाएका छन् । सरकार र प्रधानमन्त्री केपी ओलीविरुद्ध चर्को नाराबाजी पनि भइरहेको छ ।
बिहान १० बजेदेखि नै जेनजी प्रर्दशनमा सहभागी हुन विद्यार्थीहरु भानुचोकमा भेला भएका थिए । संख्यामा बढ्दै गएपछि र्याली छाताचोक हुदै धरान उपमहानगरपालिका भित्र प्रवेश गरेको थियो । तर, काठमाण्डौंमा जस्तो अप्रिय घटना भएन । र्यालीको क्रममा अश्लिल नारा पनि लगाएका थिए ।
उपमहानगरपालिकाबाट निस्केको र्याली चतरालाइन, सैनिक चोक हुदै पुनः भानुचोकमा पुगेको थियो । भानुचोकका लोकतान्त्रिक चौतारीमा युवायुवतीहरुले भ्रष्टचार बढेको, सामाजिक सञ्जाल बन्द गरेको विरुद्ध आक्रोश पोखेपछि पुनः आन्दोलन भानुचोक केन्द्रीत गरेका छन् । उनीहरुले भानुचोक कब्जा जमाएपछि छाताचोकतर्फ जाने बाटो अवरुद्ध भएको छ । उक्त सडकमा अवरोध पुगेपछि प्रहरीले पुतलीलाइन हुदै वैकल्पिक रुट सञ्चालनमा ल्याएको छ ।