धरान: नेपालीको चाड वडादशैं शुरु भइसकेकोले बजारमा किनमेल गर्ने घुँइचो पनि बढ्दै छ । यस्तो बेला मंगलबार धरानमा बजार अनुगमनमा एक टोली निस्कियो ।
उपप्रमुख अइन्द्रबिक्रम बेघाको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर र इनरुवाको संयुक्त टोलीले दैनिक उपभोग्य बस्तु बिक्री गर्ने धरानका केही पसलहरुको अनुगमन गरेको थियो । छाताचोकबाट शुरु भएको अनुगमनको क्रममा पसल दर्ता विना सञ्चालनमा रहेको, म्याद गुज्रिएको बिस्कुट तथा पेय पदार्थ भेटिएको थियो भने आफैले प्याकेजिङ गरेको काजुको प्याकेटमा तौल कम भएको पनि भेटिएको थियो ।
अनुगमन टोलीले ती पसलका सञ्चालकहरुलाई सम्बन्धित निकायमा दर्ता गर्न, म्याद गुज्रिएको सामान बिक्री नगरि बेग्लै राख्न, आफैले प्याकेजिङ गर्ने भए लेबल लगाउन र तौल कम नगर्न लिखितरुपमा निर्देशन पनि दिएको थियो । अर्को पटक अनुगमनमा आउदा पनि लापरवाही भएको पाएमा कारबाही गर्ने चेतावनी पनि टोलीले दिएको थियो ।
उपप्रमुख बेघाले व्यापारी, व्यवसायीहरुलाई आतंकित पार्न नभै आमउपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गर्दे सचेतना गराउने उद्देश्यले बजार अनुगमन गरिएको बताए । प्रशासन प्रमुख वेदप्रसाद सापकोटाले अनुगमनलाई निरन्तरता दिइने बताए ।
व्यापारीहरुले पनि बजार अनुगमनलाई सकरात्मक लिदै नियमित हुनुपर्ने धारणा व्यक्त गरे । अनुगमनले व्यावसायीहरुलाई सुधार गर्ने मौका मिल्ने र उपभोक्ताहरुमा पनि सकरात्मक सन्देश जाने गंगोत्री नेपाल प्रालिका सञ्चालक अविनाश अधिकारीले बताए । अनुगमन टोलीमा सुनसरी उद्योग वाणिज्य संघका प्रतिनिधि किसन मास्केले पनि बजार अनुमगन नियमित हुनुपर्ने र यसमा व्यावसायीहरुको पनि सहयोग नै रहने बताए ।
भिडियो: