धरान: सर्वसाधारण उपभोक्ताहरुलाई स्वास्थ्यकर खाद्य सामग्री उपलब्ध गराउने उद्देश्यले धरानमा बजार अनुगमनलाई निरन्तरता दिइएको छ । 

धरान उपमहानगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर र इनरुवाको टोलीले आज (बुधबार) पनि बजार अनुगमनलाई निरन्तरता दिएको हो । टोलीले धरान ११ स्थित मंगलबारे चोक, धरान १३ स्थित फुस्रे, धरान वडा नं ६ स्थित पानवारी र धरान १५ स्थित बगरकोटमा अनुगमन गरेको थियो । मंगलबार पनि यो टोलीले धरानको बजार अनुगमन गरेको थियो । 

अनुगमनको क्रममा लेबल विनाको बिस्कुट एवं वेकरी आइटमहरु भेटिएको थियो भने केही पसलमा म्याद गुज्रिएको चिसो पेय पदार्थ पनि फेला परेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरकी वादल चेम्जोङले बताइन् । पहिलो पटक भेटिएको पसलमा त्यस्ता पदार्थहरुलाई अलग्गै राख्न निर्देशन दिइएको पनि उनले बताइन् । लेबल विनाका वेकरी आइटम भेटिएको पसल सञ्चालकलाई भने उत्पादन गर्ने उद्योग सञ्चालकसहित उपमहानगरपालिकामा उपस्थित हुन निर्देशन पनि दिइएको थियो ।

bajar copy

यस्तै,  बगरकोटको एक सेकुवा पसलमा सेकुवामा फुड कलर प्रयोग गर्ने गरिएको पाइएपछि त्यस्तो नगर्न पनि निर्देशन दिइएको चेम्जोङले बताइन् । उनका अनुसार पकाउने वा फ्राइ गर्ने खानेकुरामा फुटकलर प्रयोग गर्न स्वास्थ्यको लागि हानिकारक (क्यान्सर हुने) हुनेगर्छ । ‘उहाँहरुलाई यसरी प्रयोग नगर्न भनेर सचेत गराउने हो, र उपभोक्ताले पनि फुडकलर हालेको खानेकुरा खानुहुदैन भन्ने जानकारी सबै माध्यमबाट गराउनुपर्छ,’ उनले भनिन् ।

चाडपर्व नजिकिएसँगै उपभोक्ताहरुले धेरै खानेकुरा किनमेल गर्ने र यस्तो बेला म्याद सकिएको, लेबल विनाको सामानहरु खरिद नहोस् भनेर बजार अनुगमनलाई निरन्तरता दिइएको उपमहानगरपालिकाको भनाई छ । प्रशासन प्रमुख वेदप्रसाद सापकोटाका अनुसार आवश्यकताको आधारमा बजार अनुगमन भइरहेको छ । ‘आवश्यकताको आधारमा र गुनासो आएको आधारमा बजार अनुगमन भइरहेको छ,’ उनले भने,‘अहिले दशैंको किनमेलले गर्दा अनुगमन टोली पुग्दा भिडभाड हुन्छ, र गाह्रो भइरहेको छ भन्ने व्यवसायीको गुनासोलाई पनि ध्यान पुर्याएर अनुगमन गछौं ।’

भिन्टेज लाउञ्ज एण्ड बारमा अनुगमन

vintage copy

धरान १५ बगरकोटस्थित निर्माणाधिन भिन्टेज लाउञ्ज एण्ड बारमा उपप्रमुख अइन्द्रबिक्रम बेघाको नेतृत्वमा रहेको छुट्टै अनुगमन समितिले पनि बुधबार अनुगमन गरेको छ । राती २ बजेसम्म सञ्चालन गर्न अनुमतिको सिफारिश माग गरेपछि उक्त टोलीले बुधबार मापदण्ड पुरा भए नभएको बारेमा स्थलगत अनुगमन गरेको हो । 

अनुगमनमा उपप्रमुख बेघासँगै प्रमुख प्रशासकीय अधिकृत अम्बिका प्रसाद चौलागाई, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल श्रेष्ठ, आर्थिक विकास समिति संयोजक बिनिता बज्रचार्य, आर्थिक विकास महाशाखा प्रमुख भक्तिराज शर्मा, राजश्व महाशाखा प्रमुख खगेन्द्र खतिवडा, वरिष्ठ इञ्जिनिर सुरज श्रेष्ठ पनि थिए । 

धरानको कार्यपालिका बैठकले विभिन्न २२ बुँदे निर्देशिका पारित गर्दै उक्त मापदण्ड पुरा गरे मात्र लाउञ्ज एण्ड बारहरुलाई राती २ बजेसम्म सञ्चालन अनुमतिको सिफारिश गर्ने निर्णय गरेको थियो । उक्त निर्देशिका पालना गरेर यसअघि बगरकोटा एमएच लञ्ज एण्ड बार मात्र २ बजेसम्म सञ्चालन अनुमति पाएको थियो । भिन्टेजले पनि निर्देशिका अनुसार मापदण्ड पुरा गरेमा जिल्ला प्रशासन कार्यालय सुनसरीमा अनुमतिको लागि सिफारिश गर्ने उपप्रमुख बेघाले जानकारी दिए । 

भिडियो: