धरान: धरानको शान्ति सुरक्षाको कमाण्ड सम्हाल्न इलाका प्रहरी कार्यालय धरानमा नयाँ डिएसपी भिषणबाबु राई आएका छन् । 

भक्तपुर सरुवा भएका डिएसपी प्रकाश जबेगुको विदाई भएसँगै बिहिबार नयाँ डिएसपी राईको कार्यालयमा स्वागत गरिएको थियो । डिएसपी जबेगुलाई विदाई गर्न र नयाँ डिएसपी राईलाई स्वागत गर्न धराना विभिन्न राजनैतिक दलका नेता, वडाअध्यक्षहरु र सामाजिक संघसंस्थाका प्रतिनिधिहरु इलाका प्रहरी कार्यालय पुगेका थिए । 

जेन जी आन्दोलन पछिको उत्पन्न बिषम परिस्थितिमा धरानको कमाण्ड सम्हाल्न डिएसपी राई आइपुगेका छन् । जेन जी आन्दोलनको नाममा धरानसँगै देशैभर सार्वजनिक र व्यक्तिगत सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट भएको थियो । अन्यत्रको भन्दा धरानको राजनैतिक परिदृष्य फरक भएकोले यहाँ आउने डिएसपीलाई निक्कै चुनौतीपुर्ण रहने गरेको छ । 

dsp welcome copy

धरानमा राजनैतिक दल र स्वतन्त्रबाट स्थानीय सरकारको नेतृत्वमा रहेका मेयर हर्कराज राई (साम्पाङ) बीचको टकरावले उत्पन्न परिस्थिति पनि प्रहरी प्रशासनको लागि चुनौती रहेको छ । पटक पटक राजनैतिक दलका कार्यकर्ताहरु र मेयर साम्पाङका समर्थकहरुबीच भिडन्तको अवस्था सृर्जना भएर शान्तिसुरक्षामा चुनौती बनेको थियो । 

विगतमा भने धरान प्रहरीको प्रमुख चुनौतीमा लागुऔषध कारोबार र दुव्र्यसन नियन्त्रण गर्नु रहने गरेको थियो । यहाँ हुने अपराधिक गतिविधिहरुको कारणमा लागुऔषध जोडिने भएकोले प्रहरीको ध्यान त्यता केन्द्रीत हुने गथ्र्यो । 

dsp bidai copy

जेनजी आन्दोलनको नाममा भदौ २४ गते धरानका पार्टी कार्यालय, पुर्वजनप्रतिनिधिहरु र नेताहरुको घरमा तोडफोड, लुटपाट र आगजनी गरिएपछि दल र मेयर साम्पाङबीच द्धन्द झनै चर्किएको छ । उक्त घटनाहरुमा मेयर साम्पाङको श्रमदानमा जाने युवाहरु पनि संलग्न भएको भिडियो फुटेजहरुमा देखिएको दाबी गर्दै मेयर साम्पाङकै निर्देशनमा गराएको आरोप नेताहरुले लगाउदै आएका छन् । पीडितहरुले प्रहरीमा किटानी जाहेरी दिएपनि दर्ता गरेर पक्राउ नगरेको भन्दै आफै घरघरमा गएर समाउने चेतावनी पनि दिइसकेका छन् । मेयर साम्पाङ र स्वतन्त्र नागरिक समाजले भने यो आरोपको खण्डन गरिसकेका छन् । 

dsp bhisan babu welcome copy

गत भदौ २४ गतेको घटनालाई सहजरुपमा अवतरण गराउनु नयाँ डिएसपीको प्रमुख चुनौती हुनेछ । बिहिबार किरात याक्थुङ चुम्लुङको विदाई कार्यक्रममा डिएसपी प्रकाश जबेगुले पनि यो कुराको संकेत गरेका थिए । उनले भनेका थिए,‘केही अराजक व्यक्तिहरुले व्यक्तिगत सम्पत्ति र घरहरुमाथि तोडफोड गरेको अवस्था छ । तर अझै मलाई लाग्छ यहाँका राजनीतिक दलहरु, जिम्मेवार विभिन्न संघसंस्थाका व्यक्तित्वहरु सबैले यसलाई सेफल्याण्डिङ गर्नुहुन्छ, जाँचबुझ आयोग बनिसकेको अवस्था छ ।’

भिडियो: