धरानः नेपाली कांग्रेस सुनसरी क्षेत्र नं १ ले विधान बमोजिम ४ वर्ष कार्यकालभित्रै नियमित महाधिवेशन गर्न माग गरेको छ । 

क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा बसेको विशेष बैठकले यस्तो माग गर्ने निर्णय गरेको हो । क्षेत्रीय अध्यक्ष तामाङका अनुसार १४औं महाधिवेशनबाट आएका सबै तहका कार्यसमितिको ४ बर्षे पदावधि यही २०८२ मंंसिरमा सकिने भएकोले मंसिरभित्रै नियमिति महाधिवेशन गर्न माग गरिएको हो । 

निर्धारित समयमा नियमित महाधिवेशन हुन नसक्ने परिस्थिति निर्माण भएमा विधानको धारा १७ उपधारा (२) बमोजिम विशेष महाधिवेशन मार्फत नीति र नेतृत्वमा रुपान्तरण र पुस्तान्तरण गरेर अघि बढ्नुपर्ने पनि अध्यक्ष तामाङले बताए । बैठकले भदौ २३ र २४ गते जेन–जी आन्दोलनका क्रममा भएका सहिदहप्रति भावपूर्ण श्रद्धान्जली र परिवारजनमा शोक तथा समवेदना प्रकट गर्नुका साथै घाइते सबैको शिघ्र स्वास्थ्य लाभको कामना गर्ने निर्णय गरेको पनि अध्यक्ष तामाङले जानकारी दिए । 

congress sunsari 1

जेन जी आन्दोलनमा हालसम्म ७६ जनाको ज्यान गएको छ । सो घटनाको निष्पक्षरुपमा सुक्ष्म छानबिन र अनुसन्धान गरी दोषीलाई कडा कारवाही गर्न पनि बैठकले माग गरेको छ । यसैगरि, जेन–जी आन्दोलनमा घुसपैठ गरी हातपात, निजी तथा सरकारी सम्पति, भौतिक संरचना तोडफोड, लुटपाट र आगजनी गर्नेहरुलाई कडा कारवाही गर्न पनि बैठकले माग गरेको छ । साथै, आन्दोलनको मूख्य माग भ्रष्टचारको अन्त्य रहेकोले सार्वजनिक पदधारण गरेका सबैको सम्पति छानबिन गरी भ्रष्टचारीलाई कडा कारवाही गर्न समेत बैठकले माग गरेको छ ।

बैठकले आन्दोलनका नाममा गैरजेन–जीहरुबाट तोडफोड र आगजनी भएको धरान–२ स्थित नेपाली कांग्रेसको पार्टी कार्यालय पार्टीका सदस्यहरुको सहयोगमा पुननिर्माण गर्ने निर्णय गर्दै सोका लागि स्वेच्छिक सहयोग गर्न अपिल समेत गरेको छ ।

बैठकमा पूर्व केन्द्रीय सदस्य मिना सुब्बा, कोशी प्रदेश महामन्त्री उमेश थापा, महासमिति सदस्य तिलक राई, पर्वत राई, जगतबहादुर कार्की, प्रदेशसभा १(१) सभापति अनिल श्रेष्ठ, प्रदेशसभा १(२) सभापति मुरारी भट्टराई, नगर सभापति श्याम पोखरेल, नगर उपसभापति नरेन्द्रकुमार राई(प्रविण)लगायत एक दर्जन बढी नेताहरुले आफ्नो विचार राखेका थिए ।

बैठकमा प्रदेशसभा सांसद ममता तामाङ, नेताहरु गोविन्द बस्नेत, कृष्णकला मादेन, चन्द्रशेखर लामा, मिना पुलामी, सुमित राई, सुमन तखाछे श्रेष्ठ, विनोद तिमिल्सिना,पन्चकला राई, शेखर कार्की, उत्तम राई, सुवर्ण पलिखेलगायतको पनि उपस्थिति रहेको थियो ।

congress susari