धरान: इलाका प्रहरी कार्यालय धरानका डिएसपी भिषण बाबु राईले शान्ति सुरक्षा कायम गर्न प्रहरी नचुक्ने र नझुक्ने पनि बताएका छन् ।

धरानमा कार्यभार सम्हालेको चौथो दिन मंगलबार पत्रकारहरुसँग परिचयात्मक भेट गर्दै डिएसपी राईले यस्तो बताएका हुन् । उनले कार्यालयको आफ्नो मोवाइल नम्बर र सञ्चारको नम्बर पनि सार्वजनिक गर्दै कुनै घटनाबारे जानकारी भए कल गर्न पनि आग्रह गरेका छन् । 

‘कल गर्नुस्, प्रहरीले रेस्पोन्स गरेन भन्ने कुरा आउदैन । जे जति अपराध वा अन्य गतिविधिसम्बन्धी चाडो रेस्पोन्स गरेर सामाजिक शान्ति सुरक्षामा कुनै किसिमको तलमाथि हुन नदिन अग्रसर हुन्छौं,’ उनले भने,‘शान्ति सुरक्षा कायम गर्ने सबै नागरिकको दायित्व हो, यसमा हामी चुक्दैनौं, र झुक्दैनौं पनि ।’

डिएसपी राईले आफ्नो कार्यालयको मोवाइल नम्बर ९८५२०९०७५५ र सञ्चारको नम्बर ९८५२०९०१२६ मा पनि कल गर्न आग्रह गरेका छन् । उनले जुनसुकै समयमा पनि कल गर्न सक्ने बताएका छन् । ‘हजुरहरुले एनिटाइम, चाहे रात होस्, जति खेर पनि कल गर्न सक्नुहुन्छ, तत्काल रेस्पोन्स गछौं । कुनै जानकारी आएको खण्डमा मेरो फोनमा वा सञ्चारको फोनमा कल गर्नुहोला,’ उनले भने ।

सेनासहितको संयुक्त पेट्रोलिङ

dsp bhisan copy

सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै आजै (मंगलबार)देखि धरानमा पनि सेना, सशस्त्र र प्रहरीको संयुक्त गस्ती शुरु भएको डिएसपी राईले जानकारी दिएका छन्। 

उनका अनुसार शान्ति सुरक्षाको अवस्थाबारे माथिल्लो निकायबाट नै विश्लेषण गरेको र आवश्यकता अनुसार तीनवटै सुरक्षा निकायको संयुक्त पेट्रोलिङ शुरु भएको हो । ‘धरानको शान्ति सुरक्षा कायम गर्न तीनै निकायको पेट्रोलिङ आजैबाट शुरु हुदैछ । भविष्यमा हुलदंगा नहोस् भन्ने र अन्य सबै पक्षलाई पनि ध्यान दिएर परिचालन भएको हो,’ उनले भने ।

चाडपर्वमा सुरक्षको कुनै कमजोरी नहोस् भनेर भिडभाड हुने बजार, बसपार्कको टिकट काउन्ट क्षेत्रमा पनि निगरानी गरिरहेको डिएसपी राईले बताए । ‘प्रहरी उपस्थिति कम भन्ने होइन, जे जति जनशक्ति छ, स्मार्टढंगले परिचालन गरिएको छ । जनशक्ति कम भएमा तालुक कार्यालयसँग समन्वय गरेर प्रहरीलाई फिल्डमा उपस्थित गराउनेछौं,’ उनले भने ।  

आफैलाई सम्हालेर लयमा फर्कने प्रयास

जेन जी आन्दोलन हिंसात्मक भएपछि सुरक्षाको अग्रपंक्तिमा रहने नेपाल प्रहरी पनि निसानामा पर्यो । केही प्रहरीको ज्यान गुम्यो भने स्थिति नियन्त्रण बाहिर गयो, र विभिन्न स्थानमा प्रहरी कार्यालय भवनहरु पनि तोडफोड, आगजनी भयो । प्रहरी निरिह भएर आफ्नो ज्यान जोगाउन एकै ठाउँमा केन्द्रीत भएर बस्नुभयो । 

यो घटनाले मनोवल खस्किएको नेपाल प्रहरी विस्तारै पुरानै लयमा फर्कने कोसिसमा छ । ‘प्रहरी पुरानो लयमा फर्कन खोज्दैछ, आफैले आफैलाई सम्हाल्न खोज्दैछ, र सम्हालिन्छ पनि,’ बिषम परिस्थितिमा धरानको कमाण्ड सम्हाल्न आइपुगेका डिएसपी राईले भने,‘अब हिजोको अवस्थामा जसरी काम कारबाही गथ्यौं नि, अब स्मार्टली गछौं । अपराध र अपराधीसँग मात्र होइन, जेन जी युवाहरु के मा फसेका छन्, के मा डिप्रेस छन्, ती सबै कुराहरु विश्लेषण गर्न जरुरी छ । जेन जीको भावना, यहाँका नागरिकको भावना अनुसार पुलिसिङ गर्नुपर्नेछ ।’

डिएसपी राईले आफु भर्खर आएकोले भदौ २४ गते धरानमा भएको तोडफोड, आगजनीका घटनाहरुबारे बुझ्ने काम गरिरहेको र आवश्यक योजना बनाउने बताए । साथै, जेनजी आन्दोलनको क्रममा भएको घटनाहरुबारे सरकारले गठन गरेको जाँचबुझ आयोगको प्रतिवेदन र सरकारबाट आउने निर्देशन वमोजिम अघि बढ्ने पनि उनले बताए । ‘आयोगबाट प्रतिवेदनमा आउछ नै, केही न केही निर्देशन आउछ नै । त्यो निर्देशनलाई मानेर यसो गर्दा ठिक होला भनेर जान्छौं,’ उनले भने ।

भिडियो: