धरान: दशैंको बेला घरमा आगलागी भएर बिचल्ली बनेका चारमध्ये दुई परिवारलाई धरान वडा नं ८ को कार्यालयले सभागृहमा अस्थायी बासको व्यवस्था गरेको छ । 

हिजो मंगलबार बिहानै धरान ८ स्थित जसमाया तामाङको घरमा आगलागी हुँदा भाडामा बस्ने ४ परिवार बिचल्ली भएका थिए । ती मध्ये दुई परिवार आफन्तको घरमा बस्ने भनेर गएका छन् भने २ छोरीसहित इलामकी विमला कार्की र सीता घिमिरेलाई वडा कार्यालयले सभागृहमा अस्थायीरुपमा बस्ने व्यवस्था गरेको वडाअध्यक्ष धनबहादुर राईले जानकारी दिए । 

अध्यक्ष राईका अनुसार दशैं आइसकेकोले तत्कालको लागि सभागृहको स्टेज पछाडि रहेको २ वटा चेन्जिङ रुममा दुई परिवारलाई राखिएको हो । यसको लागि मेयर हर्कराज राई (साम्पाङ) सँग समन्वय गरेको पनि अध्यक्ष राईले बताए । मजदुरी गरेर इलामकी विमला २ छोरीसँगै डेरामा बस्दै आएकी थिइन् भने सीता डेरामा एक्लै बस्दै आएकी थिइन् ।

agalagi1 copy

मंगलबार बिहान करिब साढे ५ बजे सीताको कोठाबाट अचानक आगो सल्किएर घर पुरै जलेर ध्वस्त भएको थियो । काठको पुरानो घर भएकोले आगो छिटो सल्किएको र आफुहरुले लगाएको एकसरो कपडाबाहेक केही पनि नबचेको पीडितहरुले गुनासो गरेका छन् ।

यसैबीच, आगलागी पीडित परिवारलाई नेपाल रेडक्रस सोसाइटी सुनसरी शाखाले हिजो नै तत्काल राहत वितरण गरेको थियो । शाखा सभापति उमेश थापासहित टोली स्थलगत पुगेर पीडित परिवारलाई खाद्यान्नसहित तत्कालको लागि आवश्यक पर्ने सामग्रीहरु वितरण गरेका थिए ।

ago4 copy