धरान: क्याम्पसको शैक्षिक गुणस्तरसहित विभिन्न माग राखेर केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारका स्ववियू सभापतिसहित विद्यार्थीहरु धर्नामा बसेका छन् ।
स्ववियू सभापति पेशलराज कार्की, कोषाध्यक्ष नाम्छाहाङ राई धर्नामा बसेका छन् । माग पुरा नभएसम्म उनीहरु दैनिकरुपमा बिहान १० बजदेखि एक घण्टा धर्ना बस्ने घोषणा गरेका छन् । हिजो (शनिबार) क्याम्पस सञ्चालक समितिको ३० औं पुर्ण बैठकमा पनि विद्यार्थीहरुको सरोकारका बिषय नसमेटिएको भन्दै सभापति कार्कीले बैठक बहिष्कार गरेका थिए ।
सभापति कार्कीका अनुसार क्याम्पस स्वयत्तता भएपनि त्रिभुवन विश्वविद्यालयको निर्देशिका र स्वयत्तताको निर्देशिका कुनलाई मानेर चल्ने भन्ने अन्योल भएकोले प्रष्ट हुनुपर्ने माग छ । यस्तै, क्याम्पस प्रशासनको बैठकहरु सामाजिक सञ्जालमार्फत लाइभ गर्नुपर्ने र क्याम्पस पदाधिकारीहरु अफिस टाइमसम्म बस्नुपर्ने पनि माग रहेको छ ।

यस्तै, विद्यार्थीहरुको उतीर्ण संख्या घट्दो रहदा प्रशासन अझै पनि विद्यार्थी कोटा थप्न चाहनुको कारण प्रष्ट पार्नुपर्ने पनि माग राखेका छन् । यसैगरि, विभिन्न निकायबाट अनुदान स्वरुप क्याम्पस स्वयत्ततामा गएपछिका आय, व्ययका विवरणहरु सार्वजनिक गर्नुपर्ने, बार्षिकरुपमा तिरिने टेक्स क्लियरेन्स पनि सार्वजनिक गर्नुपर्ने माग उनीहरुको छ । साथै, स्वास्थ्य विमा वापत रकम ५ सय उठाएर पनि धरौटी रकम फिर्ता गर्न झुलाइरहेको भन्दै फिर्त हुनुपर्ने माग गरेका छन् ।
अघिल्लो स्ववियू नेतृत्वको बेलादेखि नै प्रशासनमा विभिन्न मागहरु राखेर पत्र बुझाएपनि पुरा नभएकोले आन्दोलनमा उत्रनुपरेको सभापति कार्कीको भनाई छ । उनले क्याम्पसको शैक्षिक गुणस्तर खस्कदो भएकोले परीक्षाको रिजल्ट पनि अहिलेसम्मकै खराब भएको भन्दै सुधारको लागि सबै लागिपर्नुपर्ने पनि बताए ।
माग जायज छन्, संवाद गछौं: क्याम्पस प्रमुख राई

क्याम्पस प्रमुख वसन्तकुमार राईले स्ववियू सभापति र विद्यार्थीहरुले उठाएका मागहरु क्याम्पसको हितमा नै भएकोले पुरा गर्न संवाद गर्ने बताए । उनले स्ववियू सभापति कार्कीसँग कतिपय एजेण्डामा छलफल गर्ने गरेको दाबी गर्दै पछिल्लो समय मागपत्र लिएर नआएको र धर्ना बसेको पनि जानकारी नभएको बताए । तर, मागहरु क्याम्पसको हितमा नै भएकोले संवाद गरेर समाधान गर्न पहल गर्ने पनि उनले बताए ।
प्रमुख राईले पछिल्लो समय परीक्षाको नतिजा ज्यादै खराब आएकोमा आफू पनि चिन्तित रहेको र सम्बन्धित विभागीय प्रमुख, शिक्षकहरुसँग समिक्षा गर्ने तयारी गरिरहेको पनि उनले बताए । ‘विद्यार्थीहरुले उठाएको यो बिषय ज्यादै गम्भीर छ, र यसमा म पनि चिन्तित छुँ,’ उनले भने,‘विद्यार्थीहरु ज्यादै थोरै मात्र पास भएका छन्, रिजल्ट कसरी बिग्रियो ? समिक्षा गछौं । स्ववियु सभापति र विद्यार्थीहरुले उठाएको मागहरु जाजय छन्, हामी संवाद गरेर समाधान गछौं ।’







