धरान: गोर्खा चौतारी उद्घाटन कार्यक्रममा महिलाहरुको प्रतिनिधित्व गर्दै मन्तव्यको क्रममा शशी थापा सुब्बाले दिएको अभिव्यक्ति र त्यसविरुद्ध राजनैतिक दल सम्बद्ध पत्रकार संगठनहरुले निकालेको विज्ञप्तीको सन्दर्भमा भूपू सैनिक संघहरुले पनि मुख खोलेका छन् ।

भारतीय, सिंगापुर र ब्रिटिशको गोर्खा भूपू सैनिक संघहरुले संयुक्त विज्ञप्ती जारी गर्दै विवादित बनेको बिषयमा भूपू लाहुरेहरुले आफ्नो धारणा सार्वजनिक गरेका हुन् । घोपा क्याम्प स्थापना भएसँगै धरानको हरेक क्षेत्रको विकासमा गोर्खालीहरुको प्रत्यक्ष सहभागिता रहेको उल्लेख गर्दै विज्ञप्तीमा भनिएको छ,‘हाम्रो एकताको प्रत्यक्ष उदाहरणकोरुपमा बनेको थुप्रै संरचनाहरुमध्ये यो गोर्खा चौतारी पनि एक हो।’

चौतारीको निर्माण कार्य सम्पन्न भएपश्चात धरानलाई हस्तान्तरण गर्ने कार्यक्रम हर्षित भएर स्वागत र शुभकामना दिनुको साटो सानो गुनासोलाई अतिरञ्जित पारामा उछालेर रोइलो काट्दै प्रेस विज्ञप्ती निकाल्नु विकास विरोधीहरुको काम हो भन्ने ठम्माई रहेको पनि विज्ञप्तीमा उल्लेख छ । 

नगरपालिका र पत्रकारबीच जे जस्तो सम्बन्ध भएपनि मुलधारको पत्रकारिता जोगाउनै पर्छ भन्ने ध्येय निमन्त्रणा गरेको तर उपस्थित नभएका भाईभतिजहरुलाई लक्षित गरेर गरिएको गुनासोलाई सबै सञ्चारकर्मीलाई भनिएको भनेर भ्रमपुर्ण विज्ञप्ती जारी हुँदा दुःख लागेको पनि भूपू सैनिक संघहरुले जनाएका छन् । 

‘गोर्खा चौतारी धरान उपमहानगरपालिकालाई मात्रै नभै समग्र धरानलाई तीनवटै बृगेडका गोर्खा भूतपूर्व सैनिकहरुको अमुल्य उपहार हो,’ विज्ञप्तीमा भनिएको छ,‘तर त्यसको महत्वै नबुझि राजनीतिक दृष्टिकोणले मात्र हेर्ने दलका भातृ संगठनहरुमा आवद्ध संचारकर्मीहरुलाई अब आइन्दा हाम्रो संरचनाहरु र हामीले गर्ने कुनै पनि कार्यक्रमहरुमा उपस्थितिको महत्व नहुने हामीले पनि ठानेका छौं ।’

कार्तिक २१ गते गोर्खा चौतारी उद्घाटन समारोहमा शशी थापा सुब्बाले आफुले चिनेका मुलधारका पुराना पत्रकारहरुलाई व्यक्तिगतरुपमा बोलाउदा पनि नआएकोमा चित्त दुःखाउदै भूपू लाहुरेहरुको कामलाई मेयर हर्क साम्पाङसँग जोडेर पत्रकारहरुले राजनैतिक नजरले हेरेको टिप्पणी गरेकी थिइन् । साथै उनले आफुले पनि पत्रिका चलाएको बेलाको प्रसंग उप्काउदै लाहुरेको चामल खाएर पत्रकारिता गरेका पत्रकारहरु अहिले भूपू लाहुरेकै कार्यक्रममा नआएको भन्दै गुनासो पोखेकी थिइन् । उनको अभिव्यक्तिले पत्रकारहरुको वदनामी गरेको भन्दै एमाले, कांग्रेस र माओवादीका पत्रकारहरुले माफी माग्नुपर्ने भन्दै प्रेस विज्ञप्ती जारी गरेको थियो । 

gorkha press