धरान: धनकुटा जिल्लाबाट धरानतर्फ ल्याउदै गरेको अवैध गाँजासहित एक पक्राउ गरेका छन् । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार मंगलबार करिब २ बजे धरान वडा नं. १३ आपगाछीबाट प्रहरीले गाँजासहित एक व्यक्तिलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनकुटाको सहिदभुमी गाउँपालिका ७ का ३६ बर्षीय रोहन राई भएको प्रहरीले जानकारी दिएको छ । उनको साथबाट ८ किलो ४९५ ग्राम गाँजा वरामद भएको पनि जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

लागुऔषध ओसारपसार तथा कारोबार भइरहेको छ भन्ने विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी टोली खटिएको थियो । उक्त प्रहरी टोलीले धनकुटा तर्फबाट धरान आउँदै गरेको यात्रुबाहक ना १ ज ५६२९ नम्बरको सवारी साधनमा सवार राईलाई खानतलासी गर्दा गाँजा फेला परेको प्रहरीको भनाई छ । राईले साथमा बोकेको झोलाभित्र गाँजा फेला परेपछि नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानले थप अनसन्धान गरिरहेको पनि जनाएको छ ।