विराटनगर: सुनसरीको इनरुवा नगरपालिका ९ स्थित इनरुवा-जाल्पापुर भित्री सडक खण्डबाट गाँजासहित एक सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार उक्त गाडीबाट ४ सय ६० किलो लागूऔषध गाँजा वरामद भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी केशव कुमार थेवे आफै कमाण्ड गरेर फिल्डमा खटिएका थिए । एसपी थेवेको कमाण्डमा खटिएको प्रहरी टोलीले सडक छेउमा रोकी राखेको बा.३ च. ५५८५ नम्बरको स्कारपियो गाडीलाई शंका लागेर चेकजाँच गर्दा गाँजा वरामद भएको प्रहरीले जनाएको छ ।
उक्त गाडी भित्र १६ वटा प्लास्टिकको बोरामा प्याकिङ गरी राखेको ४ सय ६० किलोग्राम गाँजा बरामद भएको प्रहरीले जानकारी दिएको छ । गाँजा बरामद भएसंगै उक्त गाडीका चालकको खोजतलास भईरहेको पनि प्रहरीले बताएको छ ।







