धरान: धरान उपमहानगरपालिका वडा नं ४ खैरेनीमा निर्माण भइरहेको ढुंगे कलापार्कमा लिम्बू भाषा, लिपीका प्रर्वद्धक सिरिजंगा सिं थेवेको मुर्ति अनावरण गरिएको छ ।
ढुंगामा खोपेर निर्माण गरिएको उक्त मुर्तिको प्रमुख अतिथि एवं वडा नं ४ का अध्यक्ष धनबहादुर राई, मुर्ति सौजन्यकर्ता मोहन हुक्पाचोङवाङ र किरात याक्थुङ चुम्लुङ वडा ४ का अध्यक्ष दुर्गा चेम्जोङले अनावरण गरेका थिए । राष्ट्रिय विभुति समेत घोषित सिरिजंगाको आज ३२१ औं जन्मजयन्ती पनि परेकोले सोही अवसर पारेर मुर्ति अनावरण तथा पूजा गरिएको कियाचु अध्यक्ष चेम्जोङले जानकारी दिए । मुर्ति अनावरणसँगै लिम्बू विद्यार्थी मञ्चका कलाकार टोलीले च्याब्रुङ नाचसमेत प्रस्तुत गरेका थिए ।
वडाअध्यक्ष राईले ढुंगे कलापार्क निर्माण भएको ठाउँमा एक बर्षअघि फोहोरको डंगुर र झाडी भएको स्मरण गर्दै मनकारी दाताहरुको सहयोगले सुन्दर पार्कमा परिणत भएको बताए । धरान बजार क्षेत्रमा केन्द्रीत मानिसहरुको भिडलाई आफ्नो वडामा पनि ल्याउने स्वार्थ बोकेर पार्कको परिकल्पना गरेको उनले बताए ।

‘यहाँ त फोहोर र झाडी थियो । मनकारी दाताहरुले साथ नभएको भए यति सुन्दर पार्क बन्ने थिएन,’ अध्यक्ष राईले भने,‘मेरो स्वार्थ भनेको धरान बजारको भिड वडा ४ मा पनि ल्याउने भन्ने थियो, आज सफल भए कि भन्ने महशुस हुदैछ ।’ उनले पार्क र पर्यटनको प्रर्वद्धन भइरहेको भन्दै सन्तुष्टी पनि जताए ।
धरानको विकासमा भूपू लाहुरे समुदायको योगदान भुल्न नहुने भन्दै अध्यक्ष राईले मेयर हर्क साम्पाङले श्रम अभियान चलाएकै कारण भूपू लाहुरेहरुसँग विकासमा सहकार्य गर्न पाएको पनि बताए । ‘श्रमदान र विकासमा लाहुरे मामाहरु जोडिनुमा मेयर हर्क साम्पाङलाई धन्यवाद दिनुपर्छ,’ उनले भने ।

मुर्तिका सौजन्यकर्ता एवं किरात याक्थुङ चुम्लुङ सुनसरीका सल्लाहार मोहन हुक्पाचोङवाङले राष्ट्रिय विभुति घोषित सिरिजंगाको मुर्ति निर्माण गर्न पाउदा खुशी व्यक्त गरे । ढुंगे कलापार्क क्षेत्रमा उनकै नेतृत्वमा चुम्लुङले सिलाम साक्मा पार्क पनि निर्माण गर्ने भएको छ । चासोक तङ्नामको पनि शुभकामना आदनप्रदान कार्यक्रममा अतिथि सुवर्ण नेम्वाङले आजदेखि नै चुम्लुङ हिममा शुरु हुने चासोक तङ्नाम साँस्कृतिक महोत्सवमा सहभागी हुन सबैलाई निमन्त्रणा पनि गरेका थिए ।
कार्यक्रममा ढुंगे कलापार्क निर्माण अभियानका व्यवस्थापक एवं सञ्चारकर्मी भैरव आङ्लाले पार्क निर्माणबारे जानकारी दिदै राष्ट्रिय विभुति तथा राष्ट्रको लागि योगदान दिएका जिवित व्यक्तिहरुको सम्मानको लागि मूर्ति ढुंगामा खोपेर राखिएको बताए । पार्कमा फाल्गुनन्द, कुलमान घिसिङ, सन्दुक रुइत, महाविर पुन, गौतम बुद्धका साथै खेलाडीहरु प्रिति राई, किरण चेम्जोङ, कुशल भुर्तेल, सन्दिप लामिछाने, एन्जिला तुम्वापोलगायतका मुर्तिहरु ढुंगामा खोपेर राखिएको छ ।
पार्कमा किरात राई यायोक्खा वडा ४ ले वावु, ढोल र झ्याम्टा पनि ढुंगामा खोपेर राख्ने तयारी गर्दैछ भने चुम्लुङले सिलाम साक्मा पार्क र भूपू लाहुरेहरुले आयो गोर्खा स्मारक पनि बनाउने तयारी गरिरहेको छ ।
भिडियो:







