धरान: नेपाली कांग्रेसका धरान उपमहानगर उपसभापतिसमेत रहेका धरान १८ का वडाअध्यक्ष नरेन्द्रकमार राई (प्रविन) ले कम्प्युटर, प्रिन्टर र इन्टरनेट सम्बन्धी उपकरण प्रदान गर्ने र इन्टरनेट सेवा समेत तत्काल जडान गर्ने घोषणा गरेका छन् ।

गत भाद्र २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा अराजक समुहले धरान–२ स्थित बलबहादुर राई–भिमबहादुर तामाङ स्मृति प्रतिष्ठानको नाममा रहेको नेपाली कांग्रेसको पार्टी कार्यालय तोडफोड र आगजनीबाट ठुलो क्षति पुगेको थियो । त्यसबेला उक्त कार्यालयको कम्प्युटर, प्रिन्टर र इन्टरनेट सम्बन्धी उपकरणहरु नष्ट भएको थियो । नेपाली कांग्रेसको धरान नगर कार्यपालिकाका संसदीय दलका नेता समेत रहेका राईले कार्यालयलाई आवश्यक कम्प्युटर र इन्टरनेट सम्बन्धि आवश्यक उपकरणहरु र सेवा तत्काल प्रदान गर्ने घोषणा गरेका हुन् । 

तोडफोड र आगजनीवाट क्षतिग्रस्त कार्यालय पुननिर्माणका लागि पनि उनले यसअघि नै २५ हजार सहयोग गरिसकेका छन् । उनले यसअघि पनि पार्टी कार्यालयमा सि.सि. क्यामेरा जडान लगायत विभिन्न भौतिक सामाग्री र पूर्वाधार निर्माणमा सहयोग गरेको कांग्रेस क्षेत्रीय सभापति सुजेन्द्र तामाङले जानकारी दिए ।

अध्यक्ष राईले नेपाली कांग्रेसको आसन्न १५ औं महाधिवेशनका लागि नयाँ  क्रियाशील सदस्यता वितरण सम्बन्धि क्षेत्रीय सभापति तामाङको अध्यक्षतामा भएको बैठकमा उपरोक्त सहयोग गर्ने घोषणा गरेका हुन् । कम्प्युटर, प्रिन्टर र इन्टरनेट सेवा अवरुद्ध भएवाट पार्टीका सदस्यहरुको विवरण तथा अन्य आवश्यक कागजातहरुको डिजिटल अभिलेख राख्न र कम्प्युटर सम्बन्धि अन्य कार्य गर्न पुर्ण रुपले असुविधा भएको क्षेत्रीय सभापति तामाङले गरेपछि वडा अध्यक्ष राईले तत्काल सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

सभापति पदका लागि तयारी 

कांग्रेसको आसन्न १५औं महाधिवेशनमा राईले धरान उपमहनगरको सभापति पदका लागि आफ्नो तयारी पनि तीव्र बनाएका छन् । कांग्रेसमा राईलाई कुशल, निडर, सहयोगी, समाजसेवी, लोकप्रिय र स्वच्छ छवि भएका नेतृत्वको रुपमा लिइन्छ । नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलमा विभिन्न जिम्मेवारी सम्हाल्दै कांग्रेसको क्षेत्रीय सदस्य समेत भईसकेका उनी लगातार दोश्रो पटक अत्याधिक बहुमतले धरान १८ का वडा अध्यक्ष निर्वाचित पनि हुन् । 

कांग्रेसको नगर अधिवेशन २०८२ पौष १७ गते तोकिएको छ भने पौष १६ गते वडा अधिवेशन, पौष १९ गते प्रदेशसभा अधिवेशन, पौष २१ गते प्रतिनिधिसभा र एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन, पौष २२ गते जिल्ला अधिवेशन, पौष २३ र २४ गते प्रदेश अधिवेशन र पौष २६, २७ र २८ गते केन्द्रीय महाधिवेशन तोकिएको छ ।