धरान: आर्थिक संकटबाट गुज्रिरहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आर्थिक तथा भौतिक सहयोग जुटाउन नागरिकस्तरबाट पहल शुरु भएको छ । 

सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा सोमबार प्रतिष्ठानबारे आयोजित छलफल कार्यक्रममार्फत नागरिकस्तरबाट यो पहल शुरुवात भएको हो । प्रतिष्ठानको अवस्था सुधार गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा पहिलो पटक प्रतिष्ठानले नै औपचारिकरुपमा धरानवासीसँग अपिल गरेपछि व्यापारी तथा उद्योगहरुले सहयोगको प्रतिवद्धता जनाएका थिए । उक्त छलफल कार्यक्रममा नै करिब ५० लाख बराबरको आर्थिक तथा भौतिक (जिन्सी) सहयोगको प्रतिवद्धता जुटेको सनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिए । 

प्रतिष्ठानका उपकुलपति प्रा.डा. विक्रम प्रसाद श्रेष्ठले आफू पनि धरानबासी नै भएको उल्लेख गर्दै प्रतिष्ठानका जीर्ण भौतिक संरचना र उपकरण सामग्रीको मर्मत–सम्भार गर्न, आवश्यक नयाँ सामग्री खरिद गर्नका लागि धरानवासीसँग आर्थिक तथा भौतिक सहयोगको अपिल गरेका थिए । प्रतिष्ठान दानमा मात्र चल्ने संस्था नभए पनि एकपटक धराने जनताले सहयोग गर्नुपर्ने श्रेष्ठले बताए । 'विपी अस्पताल दानले मात्र चल्दैन, तर पनि एकपटक सबैले सहयोग गरेर विपीलाई सुधार गर्न हातेमालो गरौं भन्न चाहन्छु,' उपकुलपति श्रेष्ठले भने । 

bp doner1 copy

प्रतिष्ठानलाई हाल २८ प्रकारका सामग्री आवश्यक रहेको जानकारी दिँदै पेन्टिङ, शौचालय मर्मत, एलुमिनियम झ्याल मर्मत, एसी, वाइफाइ राउटर, काठका फर्निचर, फ्रिज, जस्तापाता, ह्विलचेयर, बेडलगायत सामग्री सहयोग गर्न अपिल गरेका थिए । दाताहरुबाट संकलन भएको सहयोग व्यवस्थापन समितिमार्फत नै परिचालन हुने पनि उपकुलपति श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार सहयोग प्राप्त भएको रकमको परिचालन तथा सदुपयोग गर्न प्रा.डा.अनुप घिमिरेको संयोजकत्वमा सात सदस्यीय दान दातव्य व्यवस्थापन समिति प्रतिष्ठानले गठन गरेको छ । उक्त समितिमा सुनसरी उवासंघका पुर्वअध्यक्षद्धय विजय श्रेष्ठ र सरोज श्रेष्ठलाई पनि राखिएको उपकुलपति श्रेष्ठले बताए । उक्त समितिले नै दाताहरुबाट जुटेको सहयोग पारदर्शीरुपमा रकम खर्च हुने उनले बताए । उपकुलपति श्रेष्ठले आफू नेतृत्वमा आएपछि प्रतिष्ठानमा भएका सुधारका कामहरुबारे पनि जानकारी गराएका थिए । 

कार्यक्रममा उद्योग वाणिज्य संघकोतर्फबाट पनि ओपिडीमा रहेका २५ वटा डिजिटल डिप्ले मर्मत गर्ने प्रतिवद्धता जनाएका थिए भने नेवार एकता समाजका अध्यक्ष महेश श्रेष्ठले माघको पहिलो हप्ताभित्र १०० थान ह्विलचेयर प्रदान गर्ने प्रतिबद्धता जनाएका थिए ।

bp doner copy

यस्तै, व्यवसायी नवीन राजभण्डारीले १ लाख रुपैयाँभन्दा बढी सहयोग गर्ने वचन दिए भने होटल एसोसिएसनले १ लाख रुपैयाँसम्म सहयोग गर्ने, समाजसेवी कृष्ण श्रेष्ठले १ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । साथै, रोटरी क्लब अफ घोपाले २० थान ह्विलचियर सहयोग गर्ने पनि जनाएको थियो ।

यस्तै, ग्रिल र आल्मुनियम व्यवसायीहरुबाट पनि सहयोग हुने प्रतिवद्धता व्यवसाथीद्धय राजकुमार राई र प्रेमराज राईले गरेका थिए भने निर्माण व्यवसायीबाट पनि आर्थिक र जिन्सी सहयोग गर्ने आश्वासन निर्माण व्यवसायी जनसेवक भण्डारी र हरि कार्कीले दिएका थिए ।

यसैगरि, व्यवसायी पवन अग्रवालले २ लाख ५० हजार बराबरको सामाग्री सहयोग गर्ने, औद्योगिक क्षेत्रकोतर्फबाट प्लाष्टिकको पाइप, सिपी बजगाईले ट्रली दिने, सुरेन्द्र स्थापितले १० थान मेट्रेस, मनमोहन श्रेष्ठले २ लाख ५० हजार, सतिश चन्द गुप्ताले ५१ हजार, कुमार साहले ५१ हजार, हरि चौधरीले १० वटा स्टेन स्टिल बोर्ड सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । 

भिडियोः