धरान :  २० औं ललित–अम्बर डिपो कप-२०८२ मा धरान इङ्लिस बोर्डिङ स्कुल धरान-५ र डिपो सेकेण्डरी स्कुल, धरान-१८ बीच उपाधीको लागी भिडन्त हुने भएको छ ।

प्रतियोगिताको मंगलबार सम्पन्न सेमीफाइनल खेलमा  डिपो स्कुलले नेपाल पुलिस स्कुललाई र धरान इङ्लिस बोर्डिङले आइडियल इङ्लिङ्स बोर्डिङ स्कुललाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

पहिलो सेमीफाइनल खेलमा डिपोले नेपाल पुलिस स्कुललाई २-० गोलअन्तरले पराजित गरेको थियो । डिपोको तर्फबाट दुवै गोल जर्सी ९ का आशिष जिमीले गरेका थिए । 

खेलमा म्यान अफ द म्याच डिपोका श्रीहाङ लिम्बू भएका थिए । उनलाई नेपाल पुलिल स्कुलमा समादेशक सुरेश हायुले मायाको चिनो दिएका थिए । 

यसैगरि, दोस्रो सेमिफाइनल खेलमा धरान इङ्लिस बोर्डिङ स्कुलले आइडललाई ६-२ गोलअन्तरले पराजित गर्फै फाइनलमा स्थान बनायो । धरान इङ्लिस बोर्डिङ स्कुलको लागि जर्सी १० रोयल लिम्बू र जर्सी ११ का साङसाङ लिम्बूले समान ३/३ गोल गरेका थिए । आइडल इङ्लिस बोर्डिङ स्कुलको तर्फबाट सौरभ राई र रिकेश खत्रीले १/१ गोल गरेका थिए ।

खेलमा म्यान अफ द म्याच धरान इङ्लिस बोर्डिङ स्कुलका साङसाङ लिम्बू भएका थिए । उनलाई आइडल इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल सागर खड्काले मायाको चिनो दिएका थिए ।

 यसैगरी, प्लेट च्याम्पियनतर्फ जोलसाय एकाडेमी, धरान–११ लाई हराउदै हिमशिखर इङ्लिस बोर्डिङ स्कुल, इटहरी फाइनल प्रवेश गरेको छ ।  सेमिफाइनल खेलमा हिमशिखरले जोलसायलाई १-० गोलअन्तरले हराउदै फाइनलमा स्थान बनायो । हिमशिखरको जितमा जर्सी ९ का सायुन राईले गरेको १ गोल निर्णायक गोल भएको थियो ।

खेलमा सहभागि जोलसाया एकाडेमीलाई डिपो स्कुल व्यवस्थापन समितिका सदस्य तेजबहादुर लिम्बूले मायाको चिनो दिएका थिए । प्लेट च्याम्पियनकालागि हिमशिखर र  प्रभात इङ्लिस बोर्डिङ स्कुल धरान–१२ बीच प्रतिस्पर्धा हुनेछ । 

प्रतियोगितामा बुधबार पहिलो खेल डिपो कपको तेस्रो स्थानको लागि हुनेछ । तेस्रो स्थानको लागि नेपाल पुलिस स्कुल, धरान–१३ र आइडल इङ्लिस बोर्डिङ स्कुल, धरान–१४ बीच हुनेछ । 

यसैगरी, प्लेट च्याम्पियनशिपको लागि प्रभात इङ्लिस बोर्डिङ स्कुल धरान–१२ र हिमशिख इङ्लिरस बोर्डिङ स्कुल इटहरीबीच हुनेछ । प्लेट च्याम्पियनका विजेता विद्यालयले नगद ३ हजार १ सय ११ रुपैयाँ, शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरि उपविजेता विद्यालयले नगद २ हजार १ सय ११ रुपैया, शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।