धरान: बुटवलमा आयोजित सभामा आफुलाई प्रमुख अतिथि भन्दा अगाडी नै बोल्न नदिइएको भन्दै आयोजकसङ्ग सार्वजनिकरुपमै असन्तुष्टि जनाएका उपाध्यक्ष डा.मित्र परियारलाई श्रम सस्कृती पार्टीका अध्यक्ष हर्क साम्पाङले कारबाही गरेका छन् ।
अध्यक्ष साम्पाङले सामाजिक सन्जाल फेसबुकमा आयोजकलाई अपमान गरेको र सहसंयोजकलाई अपमानजन्य बोली बोलेको कारण आचारसंहिता उलंघन भएकोले नसच्चिसम्म कार्वाही गरिएको उल्लेख गरेका छन् । तर कस्तो कार्वाही भएको भन्ने स्पष्ट खुलाएका छैनन् । बुटवलको ट्राफिक चोकमा शनिबार आयोजित सभामा स्वागत मन्तव्य लगत्तै प्रमुख अतिथिको रुपमा पार्टी केन्द्रिय अध्यक्ष साम्पाङले सम्बोधन गरेका थिए ।

अध्यक्ष साम्पाङले सम्बोधन गरेपछि टीका लगाउने र पार्टी प्रवेश कार्यक्रम सुरु भएको थियो । त्यही समयमा उद्घोषकले उपाध्यक्ष डा।परियारलाई सम्बोधन गर्न आमन्त्रण गरेका थिए । उनले सम्बोधन गर्ने बेला सबैको ध्यान अध्यक्ष साम्पाङसङ्ग टीका लगाउन र फोटो खिच्न केन्द्रित भएपछि उनी आक्रोशित भएका हुन् । सम्बोधन गर्न पोडियममा आउनेवित्तिकै डा.परियारले 'म केन्द्रिय उपाध्यक्ष हु, मैले बोल्न पाउनुपर्छ, ध्यान अर्कोतिर मोडिनु हुदैन, यति भन्नू पाप हो त ! अपराध हो त !' भन्दै टीका लगाउने र पार्टी प्रवेशको कार्यक्रम रोक्नु भन्दै कड्किएका थिए । आयोजकले गल्ती गरेको भन्दै परियारले समिक्षा गर्न पनि भनेका थिए ।
आफू २ दिनदेखी बुटवल आएर मेहनत गरेको भन्दै परियारले सेड्युल नमिलेको जस्तो लागेको बताए । 'म सम्बोधन गर्न चाहन्छु, तर अलिकति सेड्युल नमिलेको जस्तो लाग्यो र यस्मा यहाको जिल्ला टिमले आयोजक कमिटीले आत्मासमिक्षा गरोस् भन्ने म क्यामरामै अनुरोध गर्न चाहन्छु,'उनले भने ।
उनले सम्बोधनको क्रममा आक्रोश मात्रै पोखेनन्, सम्बोधन पछि आयोजक कमिटीका सहसंयोजकलाई अपशब्द समेत बोलेको जानकारी आएपछि अध्यक्ष साम्पाङले आचारसंहिता उल्लंघन गरेको एक नेताले जानकारी दिए ।
उपाध्यक्ष डा.परियार किन असन्तुष्ट ?
पार्टी केन्द्रिय उपाध्यक्ष परियारले प्रमुख अतिथि रहेका केन्द्रिय अध्यक्षले बोल्नु भन्दा अगाडि सम्बोधन गर्न आफुले पाउनुपर्थ्यो भन्ने माग गरेका हुन् । तर, काठमाडौंको सिफल चौरको सभा बाहेक अन्य सबैतिरको सभाहरुमा स्वागत मन्तव्य लगत्तै प्रमुख अतिथिलाई सम्बोधन गर्न दिने गरिएको थियो । बुटवलमा पनि त्यस्तै कार्यक्रमको सेड्युल बनाएको तर उपाध्यक्ष परियारलाई त्यसबारे जानकारी नहुदा असझदारी भएको केन्द्रिय सदस्य मन्दिरा मोक्तानले बताइन् ।
मोक्तानका अनुसार कार्यक्रमको सेड्युल र पार्टीको सिस्टमबारे उपाध्यक्ष अनभिज्ञ रहदा त्यस्तो अभिव्यक्ति आएको हो । 'नेतृत्व गर्नेले चित्त नबुझेको कुराहरु समिक्षा गर्ने हो, पब्लिक मन्चमा होइन ।आयोजक टिममा म पनि थिए, अपमान जस्तो महसुस गर्नुभयो । तर हाम्रो पार्टीको कार्यक्रम सेड्युल थाह पाउनु भएको रहेनछ,' केन्द्रिय सदस्य मोक्तानले भनिन्य-'यति धेरैको भेला छ, अध्यक्ष ज्युसङ्ग भेट्ने, फोटो खिच्ने, टीका लगाउने भिड हुन्छ । त्यसैले प्रमुख अतिथिको मन्तव्य राखेर टीका लगाउने, फोटो खिच्ने समय दिइन्छ र बाकी वक्ता बोल्ने सिस्टम छ । सेड्युल बनाउनको लागि शुक्रबार ३ पटक फोन गरे रिसिभ भएन । उहाँ त उपाध्यक्ष हो, सेड्युल कसरी बनायो, केन्द्रबाट को को आउदैछं, अतिथि को को छन् भन्ने बुझ्नुपर्छ ।'






