धरान: कोशी प्रदेश अन्तरविद्यालय डीआईजीपी रनिङ फुटबल प्रतियोगिता–२०८२ मा १६ विद्यालयहरु सहभागी हुने भएको छ । 

आयोजक नेपाल पुलिस स्कुलले प्रतियोगिताको तयारीबारे जानकारी दिन आज (सोमबार) आयोजित पत्रकार सम्मेलनमा यो जानकारी दिएको हो । लामो समय सञ्चालन हुन नसकेको यो प्रतियोगिता सातौं सँस्करण हो । २०५८ सालदेखि शुरु भएको प्रतियोगिता छैटौं सँस्करण पछि हुन सकेको थिएन । 

पुष ९ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको पनि संयोजक एवं प्रहरी निरीक्षक सुरेश कुमार हायुले जानकारी दिए । प्रतियोगितामा आयोजक विद्यालयसहित प्रदेशका १६ विद्यालयहरु सहभागी हुने संयोजक हायुले जानकारी दिए । धरान १३ स्थित नेपाल प्रहरी प्रदेश कार्यालयको खेल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेल आयोजक नेपाल पुलिस स्कुल (रेड) र भरौल विद्या मन्दिर बराहक्षेत्रबीच हुने पनि संयोजक हायुले जानकारी दिए । 

प्रतियोगितामा कक्षा १० सम्म अध्ययनरत विद्यार्थी सहभागी हुन पाउनेछन् तर उनीहरु यु १७ र यु १८ साथै एन्फाले आयोजना गरेको कुनै पनि लिग नखेलेको हुनुपर्ने पनि आयोजकले स्पष्ट पारेको छ । प्रतियोगिताको उद्घाटनलाई भव्य बनाउन सहभागी विद्यालय टोलीको मार्चपास, तेक्वान्दो पुम्सेलगायत साँस्कृतिक झाँकीहरु पनि प्रर्दशन गरिने भएको छ । पत्रकार सम्मेलनमा प्रतियोगिताको उपाधि ट्रफी साथै व्यक्तिगत विधातर्फका विजेताहरुलाई प्रदान गरिने ट्रफी पनि सार्वजनिक गरिएको थियो । 

digp cup copy

प्रतियोगितामा आयोजक नेपाल पुलिस स्कुल (रेड र ब्लु २ टिम), सैनिक आवासीय महाविद्यालय, माउन्ट हर्मन एकेडेमी, प्रभात सेकेण्डरी बोर्डिङ स्कुल, दिल्ली पब्लिक सेकेण्डरी स्कुल विराटनगर, डिपोट सेकेण्डरी स्कुल, आदर्श इङ्लिस स्कुल कानेपोखरी, सफल सिद्धार्थ एकेडेमी सुन्दरहैचा, सिद्धार्थ सेकेण्डरी स्कुल, निधी सेकेण्डरी स्कुल,वाल्मिकी एजुकेशन फाउण्डेसन बिर्तामोड, पिनाकल ज्ञान मन्दिर कानेपोखरी, बाल्मिकी मेमोरियल बोर्डिङ स्कुल पथरीशनिश्चरे, ज्ञानोदय माध्यमिक विद्यालय धरान र भरौल विद्या मन्दिर बराहक्षेत्र सहभागी हुने आयोजकले जानकारी दिएको छ । 

प्रतियोगिताको विजेताले ट्रफीसहित नगद ८१ हजार ५ र उपविजेताले ट्रफीसहित ४१ हजार ५ रुपैया प्राप्त गर्नेछ । यसैगरि, विधागत पुरस्कार तर्फ प्लेष्ट अफ दि टुर्नामेन्टलाई नगद ३ हजार ५ रुपैयासहित पुरस्कृत गरिनेछ भने बेष्ट गोलकिपर, बेष्ट डिफेन्स, हाइ स्कोरर, बेष्ट कोच, बेष्ट मिडफिल्डर र राइजिङ प्लेयरलाई जनही नगद २ हजार ५ रुपैया प्रदान गरिने संयोजक हायुले जानकारी दिए । प्रत्येक खेलको म्यान अफ द म्याच घोषित खेलाडीलाई मेडल र नगद १ हजार ५ रुपैया प्रदान गरिनेछ । विधागत पुरस्कार विजेता खेलाडीहरुलाई कक्षा ११ मा ५० प्रतिशत छात्रवृत्ति समेत उपलब्ध गराउने आयोजकले जानकारी दिएको छ ।