धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले विरामीहरुको उपचार सेवामा थप सहजता ल्याउन सम्पुर्ण प्रयोगशालाका परीक्षणहरु साताको सातै दिन र चौबिसै घण्टा उपलब्ध गराउने व्यवस्था मिलाएको जनाएको छ । 

प्रतिष्ठानकी प्रवक्ता प्रा.डा.अञ्जु प्रधानका अनुसार अटोमेटिक, सेमीअटोमेटिक र किट बेस प्रविधिमार्फत प्रयोगशाला परीक्षणहरु नमुना प्राप्त भएको समयदेखि इर्मजेन्सी तथा इएचएस सेवाका २ घण्टाभित्र विरामीका रिपोर्टहरु उपलब्ध गराउने लक्ष्य लिइएको छ । यस्तै, ओपिडी तथा आइपिडी सेवाका विरामीहरुको रिपोर्ट ३ घण्टामा उपलब्ध गराउने लक्ष्य लिइएको प्रवक्ता प्रधानले जानकारी दिएकी छिन् । 

यसको लागि प्रतिष्ठानको हाल सञ्चालनमा रहेका इर्मजेन्सी ल्याब र रुटिन ल्याबलाई एकीकृत गरी सेन्ट्रलन ल्याबमार्फत पुष ५ गतेदेखि सञ्चालन गर्ने निर्णय भएको पनि प्रवक्ता प्रा.डा.प्रधानले जानकारी दिइन् । यसअघि इर्मजेन्सी ल्याबबाट सिमित प्रकारका परीक्षणहरु हुदै आएकोमा अब सेवा विस्तार पश्चात सेन्ट्रलन ल्याबबाट सम्पुर्ण प्रयोगशाला परीक्षण सेवाहरु प्रत्येक दिन चौबिसै घण्टा उपलब्ध हुने पनि प्रवक्ता प्रधानले जानकारी दिइन् । 

‘यस व्यवस्थाबाट रुटिन ल्याब र इर्मजेन्सी ल्याबमा छुट्टा छुट्टै नमुना पठाउनुपर्ने दोहोरो प्रक्रिया अन्त्य हुने, साथै वार्ड राउण्ड समयमा विरामीहरुको प्रयोगशाला परीक्षण रिपोर्ट समयमै र सहजरुपमा उपलब्ध हुने अपेक्षा गरिएको छ,’ प्रवक्ता प्रधानद्धारा जारी सुचनामा भनिएको छ । 

प्रतिष्ठानका अनुसार ल्याबको नमुना संकलन इर्मजेन्सी, आइपिडी तथा इएचएसको चौबिसै घण्टा हुनेछ । ओपिडी सेवा र बाह्य रेफसलको भने फागुनदेखि कार्तिक महिनासम्म बिहान ७ बजेदेखि अपराह्न ४ बजेसम्म ल्याबको नमुना संकलन हुनेछ । यो अवधिमा शुक्रबार भने बिहान ७ बजेदेखि मध्याह्न १२ बजेसम्म समय तोकिएको छ । यस्तै, मंसिरदेखि माघ महिनामा भने बिहान ७ बजेदेखि अपराह्न ३ बजेसम्म नमुना संकलन हुनेछ भने शुक्रबार बिहान ७ बजेदेखि मध्याह्न १२ बजेसम्म संकलन हुने प्रतिष्ठानले जनाएको छ ।