धरान: किराती नयाँ बर्ष यलेदोङ ५०८६ को अवसरमा यलम्ब कप खेलकुद प्रतियोगिता आयोजना गरिने भएको छ । 

किरात राई यायोक्खा सुनसरी जिल्ला कार्यसमितिले शनिबार पत्रकार सम्मेलन गर्दे यलम्बर कप खेलकुद प्रतियोगिताबारे जानकारी दिएको हो । यायोक्खा अध्यक्ष राजेन्द्र राईका अनुसार माघ १ गतेदेखि विभिन्न स्थानहरुमा वडा कार्यसमिति स्तरीय खेलकुद प्रतियोगिता गर्ने संस्थाले निर्णय गरेको छ । 

नेपालको मौलिक एवं प्राचिन सम्बतकोरुपमा रहेको यलेदोङ/ यलदोङ २०८६ को प्रर्वद्धन गर्न साथै राज्यबाट मान्यता दिलाएर लागु गराउन दबाब सृर्जनाको लागि पनि प्रचारात्मक अभियान अन्तर्गत कार्यक्रम गर्ने निर्णय भएको अध्यक्ष राईले बताए । नेपालको प्राचीन सम्बतलाई सरकारले लागु गर्नुपर्ने पनि उनले माग गरे ।

नेपालकै मौलिक र प्राचीन सम्बत हुँदाहुदै पनि भारत बर्षको बिक्रमादित्यको नामबाट चलेको वि.स. र जिसस क्राइस्टको जन्मसँगै शुरु भएको इस्वी सम्बतलाई राज्यले नेपालमा मान्यता दिएर लागु गरेको छ । विदेशी पहिचान बोकेको सम्बत भन्दा नेपालकै मौलिकता बोकेको सम्बतलाई सरकारले लागु गर्नुपर्ने माग निरन्तर यायोक्खाले उठाइरहेको छ । 

yale

यायोक्खा सुनसरीका अनुसार यलम्बर कप ५०८६ अन्तर्गत माघ १ गते उद्घाटन हुनेछ भने माघ २ गते ५ किलोमिटर म्याराथुन किराया भवन धरान १० बाट हुनेछ । यस्तै, माघ ३ गते बुद्धिचाल (चेस) साकेला साँस्कृतिक पार्कमा हुनेछ भने माघ ४ गते छेले पनि सोही स्थानमा हुनेछ । 

यसैगरि, माघ ५ गते पुरुष फुटसल धरान १५ स्थित बिग फुटसलमा हुनेछ भने महिला फुटसल धरान ८ स्थित हाङ्सा फुटसलमा हुनेछ । तानबुने खेल माघ ७ गते किरात सुम्निमा भवन इटहरीमा, माघ ८ गते थ्री बाई थ्री बास्केटवल धरान २ स्थित भानुचोकमा हुनेछ भने माघ ९ गते ब्याडमिन्टन प्रतियोगिता धरान १३ स्थित अमर बहुउद्देश्यीय कभर्ड हलमा हुनेछ । यलम्बर कप प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोह माघ १० गते अमरहाटस्थित कभर्ड हलमा हुने पनि यायोक्खाले जानकारी दिएको छ ।