धरान: धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रबिक्रम बेघाले धरानमा धेरै समस्याहरु भएपनि हार मान्ने सहर नभएको बताएका छन् । 

१२५ औं धरान स्थापना दिवस समारोहमा स्वागत मन्तव्य व्यक्त गर्दै उपप्रमुख बेघाले यस्तो बताएका हुन् । उनले धरानलाई युवाहरु विदेश पठाउने सहरकोरुपमा नभई यही रोजगार दिने सहर बनाउनुपर्नेमा जोड दिए । साथै उनले गरिब, सुकुम्बासीहरुको सपना अधुरै रहेको पनि उल्लेख गरे । 

तिनका सपनाहरु अधुरै रहेपनि धरान हार मान्ने सहर नभएको उपप्रमुख बेघाको भनाई थियो । ‘ती चाहना, सपनाहरुलाई पुरा गर्ने अठोट धरान र धराने जनतासँग छ, हामी यो उत्सवमा त्यही आह्वान गदैछौं, त्यही कुरा व्यक्त गरिरहेका छौं, ढोल झ्याम्टा बजाएर,’उनले भने ।

उनले धरानलाई केवल बाँच्ने सहर मात्र नभई सबैको सपना पुरा गर्ने सहर बनाउनुपर्ने बताए । नगरलाई आशा र भरोसाको केन्द्र बनाउन पनि उनले आह्वान गरे । धरानले देशलाई श्रमलाई महत्वबोध गराइरहेको पनि उनले बताए ।

125 dharan day22

‘मानवता र सेवाभावको सँस्कृतिलाई स्थापित गरेको छ, लिने सँस्कृतिलाई होइन, दिने सँस्कृतिले देश बन्छ भन्ने सन्देश दिइरहेकोछ, यसमा हामीललाई गर्व लाग्छ,’ उपप्रमुख बेघाले भने,‘विविधताबीचको एकता छ । यहाँ राईलिम्बु, खस, खस, आर्य, नेवार, तामाङ, गुरुङ, मगर, मधेश, मुश्लिम, दलित लगायतका सबै वर्ग र समुदायले आफ्नो सँस्कार, भाषा र सँस्कृति बोकेर एकले अर्कालाई सम्मान गर्दै जीवन बाँडिरहेका छन्, खुशी साँटासाट गरिरहेका छन् ।’

नेतृत्व कुर्सी नभै जनताको आँशु र मन बुझ्ने आवाज भएको पनि उपप्रमुख बेघाको भनाई थियो । धरान धर्मले विभाजित गर्ने नभै सबै सँस्कृतिले जोड्ने सहर भएको पनि उनले बताए । ‘नेतृत्व भनेको ठुलो कुर्सी होइन, आम जनताको आँशु बुझ्ने मन हो, युवाको निराशा बुझ्ने हिम्मत हो, गरिबको आवाज सुन्ने साहस हो, समग्र धरानको आवाज हो, के हामी त्यो बन्न सकियो त ? प्रश्न हामीलाई पनि छ,’ उनले भने,‘जे भएपनि सबै मिलेर यस्तो सहर बनायौं, जहाँ धर्मले विभाजन होइन, सँस्कृतिले जोडोस्, जहाँ विकासले धनीलाई मात्र होइन, गरिबको घरमा पनि उज्यालो ल्याओस् ।’

भिडियो: