धरान: आधुनिक धरान सहर स्थापना भएको १२५ औं बर्ष पुगेको अवसरमामा आइतबार एक दिने कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ ।
पुष २० गतेलाई धरान स्थापना दिवस अर्थात धरान डे कोरुपमा उपमहानगरपालिकाले मनाउदै आएको छ । विगतका बर्षहरुमा ३ देखि ५ दिनसम्म धरान डे उत्सव मनाउदै आएको उपमहानगरपालिकाले यसपाली भने एक दिन मात्र मनाएको छ । नगर प्रमुख हर्कराज राई (साम्पाङ)का अनुसार निर्वाचन आचारसंहिताको कारण पुष २१ गतेदेखि कार्यक्रमहरु गर्न नपाउने भनेर प्रशासनबाट पत्र आएकोले एक दिन मात्र मनाइएको हो ।

स्थापना दिवस मनाउने क्रममा धरान १२ स्थित पब्लिक स्कुलको मैदानबाट झाँकीसहित वृहत र्याली निस्केको थियो । र्यालीमा विभिन्न सामाजिक संघसंस्था, जातीय संघसंस्था, विद्यालय, शिक्षक, कर्मचारीको सहभागिता रहेको थियो । र्याली छाताचोक, सिंहदेवी, पुरानो बजार, भानुचोक, पुतलीलाइन, गौतमपथ हुदै पुनः पब्लिक स्कुलको मैदानमा पुगेको थियो ।
भिडियो:
नगर प्रमुख साम्पाङको अध्यक्षतामा आयोजित स्थापना दिवस समारोहमा प्रमुख अतिथि अग्रज समाजसेवी सरला कायस्थ रहेकी थिइन् । कायस्थ धरान सहर स्थापना गर्ने सुब्बा रत्नप्रसादका कान्छा छोरा गोपाल प्रसाद कायस्थकी श्रीमति हुन् । तत्कालिन राणा प्रधानमन्त्री चन्द्र शम्सेरले बस्ती बसाउन सुब्बा रत्नप्रसादलाई पठाएका थिए । सुब्बा रत्नप्रसादले वन फडानी गरि चन्द्रपुर बजार बस्ती बसालेका थिए । जुन हाल वडा नं ३ मा पर्छ । यो वि.स.१९५७ सालको कुरा हो ।
प्रमुख अतिथि कायस्थले धरान धार्मिक, साँस्कृतिक र व्यापारिक सहर भएको बताइन् । भूपू सैनिकहरुले धरानको विकास र प्रगतिमा धेरै योगदान दिएको उल्लेख गर्दै कायस्थले धरानको गौरव बढाएको बताइन् । समारोहमा होलिगार्डेन स्कुलका कक्षा ८ का विद्यार्थीहरुले तयार गरेको धरानको प्रर्वधन गर्ने ब्रोसर विमोचन पनि गरिएको थियो ।
धेरै करदाताहरुलाई सम्मान

धरान स्थापना दिवस समारोहमा धेरै कर तिर्ने करदाताहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुने करदाताहरुमा वहालकर तर्फ सबैभन्दा बढी कर तिर्ने करदाता बेनिन्द्र कटवाल रहेका छन् । उनी धरान ९ आचार्यलाइनस्थित विष्णु मेमोरियल स्कुलका सञ्चालक हुन् । यस्तै, धरान १६ का उमेश राई र लक्ष्मीकुमारी उपाध्यायलाई पनि सम्मान गरिएको थियो ।
भिडियो:
सम्पत्ति करतर्फ धेरै करतिर्ने करदाता धरान १ स्थित सुनसरी टेक्निकल कलेजलाई पनि सम्मान गरिएको थियो भने व्यवसाय करतर्फ धरान १० स्थित प्रभु बैंक लिमिटेड र धरान १२ स्थित एनएमबि बैंकलाई पनि सम्मान गरिएको थियो ।
पालिका गानका सर्जक, गायकगायिकाहरुलाई पनि सम्मान
कार्यक्रममा धरान उपमहानगरपालिकाको पालिका गान सार्वजनिक गरिएको थियो भने उक्त गीतका स्रष्टा, संगीतकार, गायक गायिकाहरुलाई पनि कदरपत्र प्रदान गरिएको थियो । पालिका गान इटहरी निवासी टीका आत्रेयले सृर्जना गरेका हुन् भने संगीत संयोजन विनायक राईले गरेका हुन् । साथै, कृष्णराजा श्रेष्ठ, मनोज मोते, अनिष राई, मेरिना राई, मनिका कट्टेल, हिमाली फेवदिन लिम्बुले गीतमा स्वर दिएका छन् ।
भिडियो:
कार्यक्रममा हाइकिङ बाबाको नामले परिचित राजिव हलवालई र प्रत्येक बिहिबार धरानको भानुचोक क्षेत्रमा सरसफाईको नेतृत्वकर्ता एम.के.वाङ्देललाई पनि कदरपत्रले सम्मान गरिएको थियो ।






















