धरान: राष्ट्रिय प्रजातन्त्र पार्टीले सुनसरी क्षेत्र नं १ बाट आगामी निर्वाचनमा वहालवाला वडाअध्यक्षसहित ३ जना उम्मेद्वारको नाम सिफारिश गरेको छ ।
राप्रपाले धरान उपमहागनरपालिका वडा नं ६ का वडाअध्यक्ष भुपेन्द्र भट्टराईसहित पार्टीका केन्द्रीय सदस्य किसोरकुमार कार्की र जिल्ला कमिटी सदस्य उद्धव श्रेष्ठको नाम सिफारिश गरेको संगठन समन्वय विभागका केन्द्रीय सदस्य लक्ष्मण बस्नेतले जानकारी दिए ।
उनका अनुसार शनिबार सम्पन्न भएको सुनसरी १ क्षेत्रीय समिति, प्रदेश १ क, प्रदेश १ ख र धरान उपमहानगर समितिको पनि अधिवेशन सम्पन्न भएको छ । सोही अधिवेशन सम्पन्न गर्ने क्रममा नै उम्मेद्वारहरुको नामसमेत सिफारिश गरिएको बस्नेतले जानकारी दिए ।
राप्रपाका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री रामकुमार सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न भएको अधिवेशनबाट दिनेश आचार्यको अध्यक्षतामा १ नम्बर क्षेत्रीय समिति चयन भएको छ । यस्तै, प्रदेश १ क मा नविन पराजुलीको अध्यक्षतामा समिति गठन भएको छ भने प्रदेश १ ख मा दुर्गाबहादुर बस्नेतको अध्यक्षतामा समिति गठन भएको छ । यसैगरि, नरेशकुमार शाक्यको अध्यक्षतामा ३५ सदस्यीय धरान उपमहानगर समिति गठन भएको पनि नेता बस्नेतले जानकारी दिए ।








