धरान: विश्वकर्मा कल्याण सेवा समिति धरानले सबैभन्दा बढि अक्षयकोषदातादाई सम्मान गरेको छ ।
सोमबार समाजको ३४ औँ वार्षिक साधारणसभा तथा १२ औँ अधिवेशनको अवसरमा अक्षयकोषदातालाई सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि एवं धरानका उपप्रमुख अइन्द्र विक्रम बेघाले अक्षयकोषदाता शुभद्रा विश्वकर्मा, लालबहादुर विश्वकर्मा र रेणुका विश्वकर्मालाई दोसल्ला ओढाउनुका साथै सम्मान पत्र प्रदान गरेका थिए ।
शुभद्रका श्रीमान तथा लालबहादुर र रेणुका बुवा मंगलसिंह विश्वकर्माको नाममा ‘मंगलसिंह छात्रवृत्ति’ अक्षयकोष स्थापना गरेका थिए । उनीहरुले सबैभन्दा बढि १ लाख ११ हजार १ सय ११ रुपैयाँ अक्षयकोष प्रदान गरेको समाजका अध्यक्ष खड्गबहादुर विश्वकर्माले जानकारी दिए। साधारणसभालाई सम्बोधन गर्दै उपप्रमुख बेघाले समाज आफ्नो हकहितका लागि सक्रिय रहेको बताए । यस्तै कार्यपालिका सदस्य दिनेश गजमेरले समाजलाई कम्प्युटर, प्रिन्टरलगायतका सामाग्री पनि प्रदान गरेका थिए ।
अध्यक्षमा घमानसिंह निर्वाचित

विश्वकर्मा कल्याण सेवा समिति प्रधान कार्यालय धरान सुनसरीको अध्यक्षमा घमानसिंह बराइली निर्वाचित भएका छन् । सोमबार धरान १० स्थित सैनिक भवनमा सम्पन्न समाजको १२ औँ अधिवेशनमा समाजका निवर्तमान सचिव सन्दीप शंकरलाई पराजित गर्दै निर्वाचित भएका छन् । निर्वाचन मण्डलका अधिकृत डिबी शंकरका अनुसार बराइलीले ६५ मत प्राप्त गरेका थिए भने शंकरले ५५ मत प्राप्त गरेक थिए ।
कार्यसमितिका अन्य पदाधिकारी सहमतिमा चयन भएका छन् । समितिको उपाध्यक्षमा मिरा वराईली, महासचिवमा वलिन्द्र वराईली, कोषाध्यक्षमा ललन जनकर्मी र सचिवमा कला शंकर चयन भएका छन् । यस्तै, सदस्यहरुमा ज्ञानबहादुर लामिछाने, तेजेन्द्र लामिछाने, खड्ग धमला, रविन ल्वागुन, अन्जेश शंकर र आश वहादुर शंकर चयन भएका छन् ।







