धरान: जेन जी आन्दोलनका घाइते राजेश पोर्तेलको अध्यक्षतामा दर्ता भएको राष्ट्रिय परिवर्तन पार्टीले सुनसरी १ र २ निर्वाचन क्षेत्रमा उम्मेद्वार घोषणा गरेको छ । 

पार्टीले बिहिबार धरान १२ स्थित होटल शिखामा पत्रकार सम्मेलन गर्दै सुनसरीको २ वटा निर्वाचन क्षेत्रको उम्मेद्वार घोषणा गरेको हो । जिल्ला अध्यक्ष युमेनहाङ राईका अनुसार सुनसरी क्षेत्र नं १ बाट इन्द्रहाङ किरातीलाई उम्मेद्वार बनाउने पार्टीले निर्णय गरेको छ । यस्तै, सुनसरी क्षेत्र न.२ मा सुर्यकुमारी राईलाई उम्मेद्वार बनाउने निर्णय भएको पनि उनले जानकारी दिएका छन् । सुनसरीको निर्वाक्षेत्र नं नं ३ र ४ मा भने उम्मेद्वार तय गर्न पार्टी भित्र छलफल भइरहेको पनि उनले बताए । 

सुनसरी क्षेत्र नं १ बाट उम्मेदवार रहेको किराती विगतमा माओवादी केन्द्रमा रहेका थिए । उनी २०७० सालको संविधानसभा निर्वाचनमा माओवादी केन्द्रबाट चुनाव लडेपनि पराजित भएका थिए । जेन जी आन्दोलनपछि माओवादी केन्द्र बिघटन गरेर प्रचण्डले विभिन्न राजनीतिक दलहरुसँग एकता गरेर नेपाली कम्युनिष्ट पार्टी बनाएपछि किरातीले उक्त पार्टी परित्याग गरेर राष्ट्रिय परिवर्तन पार्टीमा प्रवेश गरेका थिए । 

किराती जेन जी आन्दोलनका सहिद धरान वडा नं ५ का साजन मेवाहाङ राईका आफन्त पनि हुन् । यही कारणले पनि उक्त पार्टीलाई आफुलाई उम्मेद्वार बनाएको किरातीको भनाई छ । राष्ट्रिय परिवर्तन पार्टी जेन जी आन्दोलनका घाइते र सहिद परिवारका सदस्यहरुको भावनालाई सम्बोधन गर्न सक्ने भएकोले पनि आफु उक्त पार्टीबाट उम्मेद्वार भएको उनले बताए । 

basuri party1

किरातीले चुनावमा पुराना दल र रास्वपास्ँग चुनावी तालमेल नहुने प्रष्ट पार्दै नयाँ र एजेण्डा मिल्ने पार्टीहरुसँग भने तालमेल हुनसक्ने बताए । चुनाव चिह्न बाँसुरी रहेका उम्मेद्वार किरातीले भने,‘नेपाली कांग्रेस, एमाले, नेकपा, राप्रपा, रास्वपासँग कुनैपनि तालमेल हुदैन । तर, हाम्रो एजेण्डा प्रत्यक्ष कार्यकारी राष्ट्रपतिसँग मिल्ने र नयाँ पार्टींसँग मात्र तालमेल हुनसक्छ ।’

उम्मेद्वार किरातीले आगामी चुनावमा आफ्नो पार्टीले बहुमत हासिल गर्ने पनि दाबी गरे । पत्रकार सम्मेलनमा सुनसरी क्षेत्र नं २ बाट उम्मेद्वार बनेकी सुर्यकुमारीको भने उपस्थिति थिएन ।

यो पार्टीले जेन जी आन्दोलनमा सहिद भएका परिवार तथा घाइते परिवारलाई सम्मानसँगै राजनीतिक निर्णय एवं प्रक्रियामा प्रत्यक्ष सहभागी गराउने नीति अवलम्बन गरेको जनाएको छ । पार्टीले प्रत्यक्ष निर्वाचनसँगै समानुपातिक सुचीमा पनि सहिद परिवार र घाइते परिवारलाई प्राथमिकता दिएर उम्मेद्वार बनाएको जनाएको छ । 

भिडियो: