भ्यानकुभर, क्यानाडा: पश्चिमी क्यानाडाको भ्यानकुभरमा सोनाम ल्होछार भव्यताका साथ सम्पन्न भएको छ ।

गत शनिबार छुट्टीको दिन पारेर तामाङ सोसाइटी अफ बृटिश कोलम्बियाको आयोजनामा तामाङ सांस्कृतिक कार्यक्राम विच सम्पन्न भएको हो । फ्लीटउड कम्युनिटी हलमा सम्पन्न भएको उक्त कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम गर्दै ल्होछार मनाइएको थियो ।

विशेष गरेर यो ल्होछारमा क्यानाडा मै जन्मिएर हुर्किएका क्यानेडियन तामाङहरुलाई आफ्नो संस्कृतिसँग जोड्ने उद्देश्य रहेको सोसाइटीकी सक्रिय सदस्य सुनिता तामाङले बताइन ।

20260121_230342

क्यानाडामा जन्मिएर यहिँको संस्कृतिमा हुर्किदै गरेका दोश्रो पुस्ता क्यानेडियन तामाङहरुलाई कार्यक्रममा सहभागी गराउँदै आफ्नो मातृ संस्कृतिलाई अपनत्व गराउने सोचले पनि ल्होछारमा तामाङ संस्कृतिलाई विशेष प्राथामिकतामा राखिएको थियो ।

कार्यक्रम साँझको ५ बजेबाट सुरु भएर राती १२ बजे सम्पन्न भएको थियो । लामा राप्तेनमार्फत पुजापाठ गरि सुरु भएको कार्यक्रममा तामाङहरुको परम्परालाई प्रस्तुत गरिएको थियो । क्यानाडामा जन्मिएका साना नानीहरुले स्टेजमा स्वागत गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा तामाङ संस्कृतिमा पोङ लाँदा गरिने सांस्कृतिक पक्षलाई प्रस्तुत गर्दै छोटो नाटक पनि प्रदर्शन गरिएको थियो ।

क्यानाडाको बृटिश कोलम्बिया स्टेटको विभिन्न ठाउँबाट उपस्थित रहेको उक्त कार्यक्रममा गैह्र तामाङहरुको पनि बाकुलो उपस्थिती रहेको थियो । उपस्थित सहभागीहरु भन्छन विदेशमा रहेर पनि आफ्नो संस्कृतिलाई यसरी मनाएर तामाङहरुले आफ्नो एकता देखाएका छन ।

20260121_230416

यति मात्र नभएर यहि जन्मिएर हुर्किएका दोश्रो पुस्तालाई यसरी आफ्नो संस्कृती सिकाउनु अझ यो कार्यक्रमको महत्वपुर्ण पक्ष रहेको बताए । ती सहभागी आफु गैह्र तामाङ भए पनि आफुले तामाङ संस्कृति जान्ने अवसर पाएको बताए । उनले थपे यहि जन्मिएका दोश्रो पुस्ताले प्रस्तुत गरेको तामाङ सेलो भने मलाई निकै भावुक बनायो ।

कार्यक्रम सञ्चालन सोसाईटीकी सक्रिय सदस्य सुनिता तामाङ र रजनी तामाङले गरेका थिए । उक्त कार्यक्रममा भ्यानकुभर है रहेका नेपाली संगीत प्रेमीहरुको यति ब्याण्डको लाइभ प्रस्तुति रहेको थियो । कार्यक्रमको अन्त्यमा स्टेच उक्लिएको ब्याण्डले आफ्नो विभिन्न प्रस्तुति दिदै दर्शक झुमाएका थिए । सोही क्रममा ब्याण्डले दिवंगत गायक प्रशान्त तामाङको श्रद्धाञ्जलीमा असारै महिनामा बोलको गीत प्रस्तुत गरेका थिए ।