धरान: फाइट नाइटको दोस्रो सँस्करणमा २ महिनासहित १८ जना खेलाडीहरु सहभागी हुने आयोजक धरान बक्सिङले जनाएको छ ।
आयोजकले मंगलबार पत्रकार सम्मेलन गर्दै यही माघ २३ गते हुन लागेको फाइट नाइटमा ८ जना प्रो र १० जना एमेच्योर विधामा खेलाडीहरु सहभागी हुने जानकारी दिएको हो । धरान बक्सिङका सचिव महेश आले मगरका अनुसार धरानमा पहिलो पटक राष्ट्रियस्तरको आइबिए प्रो एण्ड एमेच्योर महिला पुरुष फाइट नाइट हुन लागेको हो । गत बर्ष पहिलो सँस्करणमा पुरुष खेलाडीहरु मात्र सहभागी थिए ।
प्रतियोगिताको लागि यसपाली एक्स्ट्रीम इनर्जी ड्रिंकसँग सम्झौता भएको पनि आयोजकले जनाएको छ । प्रतियोगिता माघ २३ गते धरान १५ स्थित चुम्लुङ हिममा हुनेछ । प्रतियोगितामा प्रो.स्पर्धामा कोशी प्रदेशबाट धरान, धनकुटा, एपिएफ, नेपाल पुलिस क्लबबाट खेलाडीहरु सहभागी हुनेछन् भने बागमती प्रदेशबाट काठमाण्डौं र मकवानपुरका खेलाडीहरुले सहभागिता जनाउनेछन् । एमेच्योर विधामा धरान, धनकुटा, उदयपुर र झापाबाट खेलाडीहरुको सहभागिता रहनेछ । साथै, महिला र पुरुष राष्ट्रिय बक्सिङ खेलाडीको प्रर्दशनी खेलसमेत हुने पनि आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रो.फाइट तर्फ प्रत्येक तौलमा विजेता खेलाडीले नगद ५० हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद २५ हजार र प्रमाणपत्र प्राप्त गर्नेछन् । एमेच्योरतर्फ विजेताले १० हजार, मेडल र प्रमाणपत्र र उपविजेताले नगद ५ हजार, प्रमाणपत्र प्राप्त गर्नेछ। आयोजकका अनुसार प्रो.तर्फ ६३.५ केजीमा धरान बक्सिङका अनिश भुजेल र हेटौडाका सोहन राई, ८० केजीमा काठमाण्डौंका मनोज तामाङ र नेपाल पुलिसका प्रदिप पाकी, ५७ केजीमा धरानका सिंहबहादुर लिम्बू र एपिएफका प्रदिप महर्जनबीच भिडन्त हुनेछ । महिला प्रो.तर्फ काठमाण्डौंकी रमिशा श्रेष्ठ र एपिएफकी नाङ्जा बुढा मगरबीच भिडन्त हुनेछ ।
यस्तै, एमेच्योरतर्फ ४८ केजीमा धरानका मौसम राई र धनकुटाका अविनाश राई, ५१ केजीमा धरानका आयुष लिम्बु र उदयपुरका ललितबहादुर तामाङ, ५७ केजीमा धरानका नोहाङ राई र धानकै अनिश राई, ६५ केजीमा धरानका नाम्साङ लिम्बु र काठमाण्डौंका रोमश श्रेष्ठ, ६० केजीमा धरानका युनिक राई र काठमाण्डौंका छिरिङ वाङ्दी शेर्पाबीच भिडन्त हुने आयोजकले जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा धरान खेलकुद मञ्चका अध्यक्ष एवं एन्फा प्रदेश अध्यक्ष किसोर राईले खेलकुदमा जनप्रतिनिधि र कर्मचारीतन्त्रले उचित ध्यान नदिएको बताए । खेलकुदको विकासको लागि, खेलाडीहरुको भविष्य सुनिश्चित गर्न राज्यले लगानी गर्नुपर्ने उनको भनाई थियो । साथै, प्रतियोगिताको लागि संस्थाकोतर्फबाट २५ हजार सहयोग गर्ने पनि उनले बताए । आयोजक धरान बक्सिङका उपाध्यक्ष गोपाल श्रेष्ठले बक्सिङ खेलका नयाँ पुस्तालाई प्रोत्साहित गर्न धरान फाइट नाइट आयोजना गरिएको बताए । दोस्रो सँस्करण रोमाञ्चक हुने पनि उनको भनाई थियो ।







