धरान: धरान खानेपानी व्यवस्थापन बोर्डले माघ महिनाको खर्च र वचतको विवरण सार्वजनिक गरेको छ ।
बोर्डका अध्यक्षसमेत रहेको कार्यवाहक मेयर अइन्द्रबिक्रम बेघाले शुक्रबार पत्रकार सम्मेलन गर्दै आयव्यय सार्वजनिक गरेका हुन् । पत्रकार सम्मेलनमा बेघाले खर्चको विवरण र बचत रकमको जानकारी दिएका थिए । आयतर्फ भने विवरण सार्वजनिक गरिएको थिएन।
माघ महिनामा विभिन्न शिर्षकमा कुल १ करोड ९९ लाख ५८ हजार ७१० रुपैया खर्च भएको बेघाले बताए । साथै सबै खर्च कटाएर माघ २९ गतेसम्म १ करोड ८२ लाख ११ हजार ६८२ रुपैया नगद मौज्दात रहेको पनि उनले जानकारी दिए ।
व्ययतर्फ कर्मचारी तलबमा ३१ लाख ७५ हजार, ज्यालादार कामदारलाई ज्यालामा १३ लाख २४ हजार ६२३ रुपैया खर्च भएको पनि बोर्डले जनाएको छ । विद्युत महशुल पम्प तथा कार्यालय खर्चमा ३६ लाख २८ हजार ८५६ रुपैया खर्च भएको छ भने क्रेन तथा जेसिबि भाडामा १ लाख ७७ हजार ५०९ रुपैया खर्च भएको छ ।
यसैगरि, खानेपानी ट्यांकी निर्माणमा १ करोड ३ लाख २१ हजार ४०४ रुपैया खर्च भएको छ भने पम्प तथा मोटर मर्मतमा २ लाख ७९ हजार ३०७, खानेपानी पाइपलाइन विस्तारमा ९ लाख ५५ हजार २०९ रुपैया खर्च भएको पनि बोर्ड अध्यक्ष बेघाले जानकारी दिए ।
२ करोड ३६ लाख लिटर पानी उपलब्ध
भिडियो:
खानेपानी बोर्डले हालको अवस्थामा भुमिगत र सतहगत स्रोतहरुको पानीको विवरण पनि सार्वजनिक गरेको छ । बोर्डका अध्यक्ष बेघाका अनुसार भुमिगत स्रोत अन्तर्गत उदय सामुदायिक वन क्षेत्रमा पम्पबाट १७ लाख लिटर पानी उत्पादन भइरहेको छ भने चारकोसे जंगल धरान ८ र १५ मा रहेको पम्पबाट सबैभन्दा बढी १ करोड ४० लाख लिटर पानी उत्पादन भइरहेको छ । प्रदेश सरकारबाट निर्माण गरिएको वेल (धरान ८ र १५) बाट १५ लाख लिटर पानी उत्पादन भइरहेको छ ।
सतह स्रोतहरुकोरुपमा रहेको सर्दु, खर्दु खोला धरान २० बाट ४५ लाख, निसाने खोला धरान ४ बाट २ लाख, कोकाह खोला धरान २० बाट १० लाख, नयाँ ट्यांकी (रिचार्ज पोखरी) धरान २० बाट ३ लाख, भालु खोला (धन्यवाद ट्यांकी) धरान १४ बाट १ लाख, पकुवा खोला धरान ११ बाट १ लाख लिटर पानी उपलब्ध भइरहेको छ भने कोकाह उपभोक्तासँगको सम्झौताबाट २ लाख लिटर पानी उपलब्ध भइरहेको पनि बेघाले जानकारी दिए ।









