धरान: माघ २२ गतेदेखि जारी २६ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको फाइनलमा शनिबार प्लानिङ ब्वाइज युनाइटेड र चर्च ब्वाइज युनाइटेडबीच उपाधी भिडन्त हुदैछ । 

धरान १६ स्थित रंगशालामा हुने फाइनलमा दुवै टोली पहिलो पटक उपाधी उचाल्ने लक्ष्यका साथ मैदानमा उत्रनेछन् । पहिलो पटकको सहभागितामै प्लानिङ ब्वाइज उपाधि नजिक छ । 

चर्च ब्वाइज भने गत सँस्करणमा फाइनलमा भागेको पराजयको घाउमा यसपाली मल्हम लगाउने मौका छ । गत सँस्करणमा चर्च ब्वाइज फाइनलमा एनआरटीसँग पराजित हुँदा पहिलो पटक च्याम्पियन हुनबाट चुकेको थियो । शनिबार हुने फाइनलमा जस्ले जिते पनि बुढासुब्बा गोल्डकपले नयाँ च्याम्पियन पाउने निश्चित छ । 

आज शुक्रबार रंगशालामा आयोजित प्रि–म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधी जित्ने दाबी गरेको छ । प्लानिङ ब्वाइजका प्रशिक्षक सन्जित सिंहले बुढासुब्बा गोल्डकपमा पहिलो पटक सहभागितामै टोली फाइनल पुग्नु नै टिमको लागि ऐतिहासिक भएको बताए । 'पहिलो सहभागितामै टिम फाइनल पुग्यो, हामी ऐतिहासिक जितको प्रतिक्षामा छौं,' उनले भने, 'हाम्रा खेलाडीहरु युवा छन्, टिमवर्क पनि राम्रो छ, जित हाम्रो नै हुनेछ ।' प्रशिक्षक सिंहले सेमीफाइनलमा पापा इबाउ केबेले रेड कार्ड पाएर फाइनल खेल्न नपाए पनि खेलाडीहरु उच्च मनोवल लिएर मैदानमा उत्रने बताए। 

budha subba goldcu

यस्तै, चर्च ब्वाइजका प्रशिक्षक सुमन श्रेष्ठले टोली लयमा नै रहेकोले फाइनल जित्ने विश्वास व्यक्त गरे । 'एकदुई जना खेलाडी घाइते भएपनि अन्य सबै खेलाडीहरु फिट छन् । सकरात्मक सोचका साथ खेलाडीहरु मैदानमा उत्रनेछन्,' प्रशिक्षक श्रेष्ठले भने । कप्तान मिलन राईले लिगपछिको मोसफलमा सहभागी पहिलो गोल्डकप भएकोले महत्वपुर्ण भएको प्रतिक्रिया दिए । 'यो गोल्डकप हाम्रो लागि महत्वपुर्ण छ, उपाधि जित्नकै लागि खेल्नेछौं,' उनले भने । 

प्रतियोगितामा बुधबार भएको पहिलो सेमीफाइनल खेलमा लालीगुँरास एशोसिएशन पोखरालाई २ १ गोलअन्तरले हराउदै प्लानिङ ब्वाइज युनाइटेड फाइनल प्रवेश गरेको थियो भने बिहिबार भएको दोस्रो सेमीफाइनल खेलमा झापा ११ लाई टाइब्रेकरमा पराजित गर्दै चर्च ब्वाइज युनाइटेड फाइनल प्रवेश गरेको थियो । 

प्रतियोगिताका विजेताले उपाधि ट्रफीसँगै नगद १० लाख पाउनेछ भने उपविजेताले ५ लाख नगद पुरस्कार प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले एक थान होन्डाको स्कुटर पाउनेछन् । यस्तै, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर तथा उत्कृष्ट प्रशिक्षकलाई जनही रु २५ हजार पुरस्कार पाउनेछन् भने सर्वाधिक गोलकर्ताले ३५ हजार पुरस्कार पाउने अध्यक्ष प्रताप तामाङले जानकारी दिए ।