धरान: उज्यालो नेपाल पार्टीबाट सुनसरी क्षेत्र नं १ मा उम्मेद्वार रहेका डम्बर लावती (जेन्टल)ले आफ्ना चुनावी प्रतिवद्धताहरु सार्वजनिक गरेका छन् ।
शनिबार पत्रकार सम्मेलन गर्दे उज्यालो सुनसरी एक: भिजन अनेकमा समेटिएका विभिन्न १७ बुँदाका प्रतिवद्धताहरु लावतीले सार्वजनिक गरेका हुन् । केन्द्रीय निर्वाचन प्रतिवद्धताले स्थानीयस्तरका मुद्दाहरु नसमेटिएको भन्दै उम्मेद्वारहरुले स्थानीय मुद्दाहरु समेटिएको प्रतिवद्धताहरु धमाधम सार्वजनिक गर्नेक्रममा रहेको छ ।
लावतीको प्रतिवद्धताको पहिलो बुँदामा नै धरानकोे खानेपानी समस्याको दिगो समाधानका साथै बहुआयामिक विकासको लागि धरान–लेउती सुरुङमार्ग बनाउन पहल गर्ने उल्लेख छ । उक्त सुरुङमार्गबाट तमोरको पानी ल्याउन सकिने, सर्दु करिडोर बनाएर ३३ केभी हाइटेन्सन सार्ने र ११ केभी लाइन पनि मदन भण्डारी राजमार्गमा सार्न पहल गर्ने लावतीले बताए ।
यस्तै, सर्दु जलाधारको नाममा रोक्का भएका जनताको जग्गा फुकुवा गर्न, ६ लेन सडकको नाममा रोक्का भएको घरजग्गाको समस्या, सुकुम्बासीको र सहकारी समस्यालाई समाधान गर्न सरकारसँग पहल गर्ने पनि लावतीको प्रतिवद्धतामा उल्लेख छ । यस्तै, धरानलाई व्यापारिक स्मार्ट शहरकोरुपमा विकास गर्ने, विपी प्रतिष्ठानलाई प्रभावकारी, सुविधा सम्पन्न, सस्तो सुलभ र छिटो उपचारका लागि वातावरण बनाउने, धरानलाई शैक्षिक हवकोरुपमा स्थापना गर्ने, पर्यटन प्रविधि र खेलकुदमा सकरात्मक सुधार गर्ने पनि लावतीको प्रतिवद्धतामा उल्लेख छ ।
लावतीले धरानभित्र डोमेस्टिक एपरपोर्ट निर्माण गर्ने एजेण्डालाई पनि समेटेका छन् सुविधासम्पन्न प्रादेशिक थिएटर निमाृण गर्ने, बहुसाँस्कृतिक पार्क, आवासिय र तालिम गृह निर्माण गर्ने पनि उल्लेख गरेका छन् । धरानमा रोजगार केन्द्र निर्माण गर्ने, न्युनतम एक घर एक युवा रोजगार कार्यक्रम सञ्चालन गर्ने, भूपू सैनिकहरुको समस्या समाधानको लागि पहल गर्ने, ब्रिटिश गोरखा सैनिक र परिवारको समस्या निवारण गर्न जिटुजी वार्तालाई निष्कर्षमा पुर्याउने पनि लावतीको प्रतिवद्धतामा उल्लेख छ ।
रामधुनी, बराहक्षेत्रका सडक सञ्जाल, करिडोर र पुल निर्माण, सडक स्तरोन्नति, शिक्षा, स्वास्ज्थ्यमा विकासको लागि पहल गर्ने, जल तथा प्रकृतिमा आधारित पर्यटनलाई थप प्रर्वद्धन गर्ने, विजयपुर–विष्णुपादुका–बराहक्षेत्र (बिबिबि) सर्किट निर्माण गर्दै धार्मिक साँस्कृतिक पर्यटन रुटको विकास गर्ने पनि उल्लेख गरेका छन् ।
फागुन ११ गते चुनावी सभामा कुलमान घिसिङ आउने
उज्यालो नेपाल पार्टीले फागुन ११ गते धरानमा चुनावी सभा गर्ने भएको छ । उक्त सभालाई सम्बोधन गर्न केन्द्रीय अध्यक्ष एवं पुर्वमन्त्री कुलमान घिसिङ आउने सुनसरी १ मुल निर्वाचन परिचालन कमिटी सचिव अमित थेवेले जानकारी दिए ।
जेन जी आन्दोलनपछि गठन भएको उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबीच चुनाव पछि पार्टी एकता गर्ने सहमतिका साथ १२१ निर्वाचन क्षेत्रमा चुनावी तालमेल छ । सोही तालमेल अन्तर्गत सुनसरी क्षेत्र नं १ मा प्रत्यक्षतर्फ बिजुलीको बल्ब र समानुपातिकमा बाँसुरी चुनाव चिह्नमा उम्मेद्वारले भोट मागिरहेका छन् ।
जेन जी बिद्रोह पनि पुराना र नयाँको लाइन कोरियो: माखिम

उज्यालो नेपाल पार्टीका नेता खागेन्द्र माखिमले भदौ २३ र २४ गतेको जेन जी बिद्रोहले पुरानो कि नयाँ भनेर लाइन कोरिएको र आफुहरुले नयाँ मार्ग, नयाँ लाइनमा उभिएको बताए ।
‘जेन जी बिद्रोहले जनता पुरानो दलमै उभिने कि नयाँ दलमा उभिने भन्ने लाइन कोरेको छ,’ उनले भने,‘मुद्दालाई प्राथमिकता दिएर हिडेको हामी जस्ता राजनीतिकर्मीले पुरानो अवस्थामा बसिरहन चाहेनौं, र नयाँ लाइनमा, नयाँ मार्गलाई छान्यौं ।’
उनले पुरानोहरुको बीचमा समुदायगत मुद्दा, नो कोशी, नो केवलकार, दलित, महिला, सुकुम्बासी, स्वयत्ततालगायत विभिन्न मुद्दाहरु उठाउदा दुईतिहाई लिएर आउन नत्र गोली खान तयार हुनु भनेर चुनौती दिएको बताए । ‘पुराना दलहरुले त हाम्रो मुद्दाको सुनुवाई नै गरेन, आवाज नै सुनेन,’ उनले भने,‘त्यसो भएको हुनाले पुरानोमा बस्न चाहेनौं ।’
उनले नयाँ भनिएका अन्य पार्टीहरुले पुराना दलहरुको फोटोकपी शुरु गरेको कारणले उज्यालो नेपाललाई छान्नुपर्ने बताए । उनले आफुहरुको घोपाणा पत्रमा नै पोलिटिकल र एजुकेशन स्टार्टअपको कुरा गरिएकोले अन्य पार्टीहरुभन्दा फरक रहेको जिकिर गरे ।
भिडियो:
भिडियो:







