धरान: सुनसरी निर्वाचन क्षेत्र नं १ का उम्मेद्वारहरुले सार्वजनिक तथा आर्थिक विकास र समृद्धिको लागि गरेका १६ बुँदे अवधारणामा प्रतिवद्धता जनाएको सुनसरी उद्योग वाणिज्य संघले सार्वजनिक गरेको छ । 

संघको १६ बुँदे अवधारणामा विभिन्न राजनीतिक दलका १३ जना उम्मेद्वारहरु र दुई जना स्वतन्त्रले प्रतिवद्धता जनाएको सोमबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो । फागुन २१ को निर्वाचनमा सुनसरी १ मा कुल २६ जना उम्मेद्वार रहेका छन् । 

संघका अध्यक्ष गोपाल श्रेष्ठले उम्मेद्वारहरुले प्रतिवद्धता जनाएको अवधारणाको पहिलो बुँदामा धरान तमोर मुलघाट बहुउपयोगी सुरुङ मार्ग निर्माणको लागि अविलम्ब पहलसहित निर्माण प्रक्रिया अघि बढाउने रहेको जानकारी दिए । यस्तै, धरानको लागि पर्याप्त खानेपानी उत्पादन र वडाहरुमा व्यवस्थित वितरण, सुद्ध खानेपानी उत्पादन र सबै वडाहरुमा व्यवस्थित वितरणको व्यवस्था गर्नेमा पनि उम्मेद्वारहरुको प्रतिवद्धता रहेको छ । 

यसैगरि, धरान बजारको विकाससँगै व्यवसाय व्यापकताका लागि सर्दु सेउती करिडोर निर्माणमा पहल, धरानबाट आसपासको क्षेत्रसँग जोड्ने लिंकरोड तत्काल निर्माण सम्पन्न गरि स्तरउन्नती गर्ने, धरान ६ पानवारीमा शुरु हुने प्रक्रियामा रहेको औद्योगिक ग्रामलाई निर्माण सम्पन्न गरि सञ्चालनमा ल्याउन पनि उम्मेद्वारहरुले प्रतिवद्धता जनाएका छन् । 

gopal shrestha

विजयपुर, विष्णुपादुका, चतरा, बराहक्षेत्र र रामधुनी समेटिएको बिशिष्टकृत सर्किट निर्माण गरी आवश्यक पुर्वाधार तयार गर्ने, व्यवसाय प्रर्वद्धन तथा उत्पादन बजारीकरण गर्न धरान ६ पानवारीमा प्रस्ताव गरिएको अन्र्तराष्ट्रिय व्यापार प्रर्दशनीकेन्द्र निर्माण गर्न पनि उम्मेद्वारहरुले प्रतिवद्धता जनाएका छन् ।  

यस्तै, धरानको स्थापित व्यवसाय सवारीसाधन खरिद बिक्री, मर्मत तथा सवारीसाधनको एकीकृत सेवा कार्य एकै थलोमा गर्ने गरि हटोजोन निर्माण गर्ने, जिल्ला ट्राफिक कार्यालयको जग्गा व्यवस्थापन गर्दै भवन निर्माण गर्ने, लाइन्सेन्सको लागि लिइने प्रयोगात्मक परीक्षा केन्द्र(ट्रालय सेन्टर) धरानमा निर्माण गर्ने, तीनकुनेमा आकर्षक पर्यटन सुचना केन्द्र साथै सर्ट रिफ्रेसमेन्ट सेन्टर निर्माण गर्ने, पानवारीमा निर्माण भएको फोहोर प्रशोधन केन्द्र थप व्यवस्थित गर्दै प्रभावकारीरुपमा सञ्चालन गर्न पनि उम्मेद्वारुहरुले प्रतिवद्धता जनाएका छन् । 

संघका अध्यक्ष श्रेष्ठले उम्मेद्वाहरुमध्ये जो कोहीले चुनाव जिते पनि संघको अवधारणामा प्रतिवद्धता जनाएको हुनाले कार्यान्वन गर्न पहल गरिने बताए । संघले अघि सारेको अवधारणामा केही उम्मेद्वाहरुले भने बुँदा थप गरेर प्रतिवद्धता जनाएको पनि अध्यक्ष श्रेष्ठले बताए ।