धरान: सुनसरी निर्वाचन क्षेत्र नं १ मा कुल २६ जना उम्मेद्वार थिए । ती मध्ये विजयी भएका श्रम सँस्कृति पार्टीका हर्कराज राई (साम्पाङ) र राष्ट्रिय स्वतन्त्र पार्टीकी सरिन तामाङबाहेक सबैको जमानत जफत भएको छ । 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार कुल खसेको मतको १० प्रतिशत मत ल्याउन नसक्ने उम्मेद्वारहरुको जमानत जफत हुने कानुनी प्रावधान छ । सुनसरी १ मा कुल ८७४७१ मत खसेको थियो । उम्मेद्वारहरुले धरौटी रकम (जमानत) फिर्ता गराउनको लागि १० प्रतिशत अर्थात कम्तीमा ८७४७ मत ल्याउनुपर्ने हुन्छ । 

‘विजयी र निकटतम उम्मेद्वारबाहेक कसैको पनि मतप्रतिशत पुगेन,’ निर्वाचन अधिकृत दिव्यराज घिमिरेले भने । विजयी भएका साम्पाङले ३५७४१ मत पाए भने निकटतम प्रतिस्पर्धी सरिनले २७२४९ मत पाएका छन् । सुनसरी १ मा विभिन्न राजनीतिक दलबाट १९ जना र ७ जना स्वतन्त्र गरि २६ जना उम्मेद्वार थिए । बलियो संगठन र धेरै कार्यकर्ता भएको मानिएका एमाले, कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीका उम्मेद्वारलेसमेत जमानत जोगाउन सकेनन् । 

१५ जनाको मत सय पनि कटेन

सुनसरी १ मा २६ जना उम्मेद्वार रहेकोमा सय मत पनि कटाउन नसक्नेको संख्या १५ जना रहेका छन् । सबैभन्दा कम मत स्वतन्त्र उम्मेद्वार ओमकृष्ण उदास(चुनाव चिह्न कैची) ले ९ मत ल्याएका छन् भने स्वतन्त्र चेतबहादुर राई(चुनाव चिह्न कप) को १४, मितेरी पार्टी नेपालका रक्षकुमार राईको १७, स्वतन्त्र शेषप्रसाद रेग्मी (सिरिञ्ज) को १७, राष्ट्रिय जनमुक्ति पार्टीका यामबहादुर लिम्बूको २७ मत रहेको छ । 

यस्तै, स्वतन्त्र उम्मेद्वार जीवनकला राईको ३७, मंगोल नेशनल अर्गनाइजेशनका राजेन्द्र गुरुङको ४६, आम जनता पार्टीका रामबहादुर बिष्टको ५२, जनता समाजवादी पार्टी नेपालका संजय राईको ५३, नेपाल मजदुर किसान पार्टीका महेश श्रेष्ठको ६३, स्वतन्त्र सुमित राईको ६९, स्वतन्त्र देउमान लिम्बूको ७४, नेपाली जनश्रमदान पार्टीका राजकुमार राईको ८३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजकुमार लिम्बूको ८३ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का दिलबहादुर बास्तोलाको ९४ मत रहेको छ ।