धरान: समानुपातिक सांसद बन्ने आकांक्षीहरु बढेर विवाद सृर्जना भएको श्रम सँस्कृति पार्टीका दुई उम्मेद्वारले भने समानुपातिकबाट नाम फिर्ता लिने घोषणा गरेका छन् । 

समानुपातिक बन्द सुचीमा रहेका उम्मेद्वारद्धय जीवन बिष्ट र मीना सिंगकले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो नाम फिर्ता लिने घोषणा गरेका हुन् । समानुपातिक बन्द सुचीमा बिष्ट खास आर्य पुरुषतर्फको पहिलो नम्बरमा छन् भने सिंगक आदिबासी जनजाति महिलातर्पmको बन्द सुचीमा तेस्रो नम्बरमा छिन् । बिष्टले आफ्नो नाम फिर्ताको घोषणा गर्दै गोर्खा लाहुरे समुदायको संसदमा प्रतिनिधित्व होस् भनेर पुरुषहरुको तर्फबाट भूपू गोर्खा क्याप्टेन पुर्ण लिम्बूको नाम बन्दसुचीबाट पठाइदिन अनुरोधसमेत गरेका छन् । 

यसैगरि, सिंगकले पनि समानुपातिकमा सिट कम तर आकांक्षी धेरै भएकोले पार्टीमा आफ्नोतर्फबाट कुनै बाधा अवरोध नहोस् भनेर नाम फिर्ता गरेको बताएकी छिन् । खसआर्य पुरुषको नाम पठाउदा बिष्ट पहिलो नम्बरमा भएकोले पर्ने सम्भावना छ भने आदिबासी जनजाति महिलातर्फ तेस्रो नम्बरमा भएकोले सिंगक पर्ने सम्भावना छैन । 

समानुपातिक सांसदको आकांक्षीहरु बढेर विवाद समेत भएको थियो । आफुलाई सांसद बनाउन भन्दै चर्को दबाब दिन थालेपछि पार्टी अध्यक्ष साम्पांगले समानुपातिकमा रोइलो गर्नेहरुलाई पार्टीबाट निष्काशन गर्ने घोषणासमेत गर्नुपरेको थियो । 

चार जना समानुपातिक सांसदको कोटा पाएको यो पार्टीले कम्तीमा ३ जना महिला अनिवार्य महिला सांसद बनाउनुपर्ने हुन्छ । खसआर्य पुरुषबाट सांसद बन्ने सम्भावना रहेका बिष्टले नाम फिर्ता लिने घोषणा गरेपछि अब पुर्ण लिम्बू पर्ने सम्भावना छ । स्रोतका अनुसार पार्टी अध्यक्ष साम्पाङले पनि लिम्बूलाई सांसद बनाउन चाहेका छन् । 

प्रत्यक्षमा ३ जना पुरुष सांसद जितेको पार्टीले अब ३ जना महिला अनिवार्य सांसद बनाउनुपर्दा आदिबासी जनजाति महिलातर्फ बन्द सुचीमा पहिलो नम्बरमा रहेकी मकवानपुरकी मन्दिरा मोक्तान छिन् । यस्तै, दलित महिलाबाट सुर्खेतकी राधिका रम्तेल, थारु महिलाबाट कैलालीकी सरस्वती चौधरी, मुस्लिम महिलाबाट महोत्तरीकी सफिना खातुन, मधेशी महिलाबाट सर्लाहीकी रेणुदेवीको नाम पहिलो नम्बरमा छ । पार्टीले क्लष्टर मिलाएर ३ जना महिला यिनैमध्येबाट सिफारिश गर्नुपर्ने हुुन्छ ।