धरान: फागुन २१ गतेको प्रतिनिधिसभा सदस्यको निर्वाचनको सम्पुर्ण मतपरिणाम आएलगत्तै समानुपातिक सांसदको बिषयमा श्रम सँस्कृति पार्टीभित्र लफडा शुरु भएको छ ।
स्थापनाको छोटो समयमा नै प्रत्यक्षतर्फ ३ सिट जिटेको र थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी बनेको श्रम सँस्कृतिले समानुपातिकमा ४ जना सांसद पाउने निश्चित भएको छ । चार जना सांसद पाउने भएपछि श्रम सँस्कृतिको समानुपातिक बन्द सुचीमा रहेका उम्मेद्वारहरुको आकांक्षाले लफडा शुरु भएको हो ।
आदिबासी जनजातितर्फको समानुपातिक उम्मेद्वारको बन्द सुचीमा रहेकी समला साम्पाङ राईले मिडियामार्फत आफु सांसद हुनैपर्ने दाबी गरेपछि समानुपातिकको विवाद सतहमा देखिएको हो । यस्तै, बन्द सुचीमा रहेकी आशा लामा पनि आफुलाई सांसद बनाउनुपर्ने भन्दै दबाब दिन काठमाण्डौंबाट धरान आएकी छिन् । आदिबासी जनजाति महिलाको तेस्रो नम्बरमा रहेकी लामाले आफुलाई सांसद नबनाए पार्टी अध्यक्ष साम्पाङको घरमा धर्ना बस्ने धम्की दिएको पनि समला राईले सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक गरेकी छिन् ।
उनले आफुले संघर्षको बेलादेखि साथ दिएकोले सांसद आफु बन्न पाउनुपर्ने बताएकी थिइन् । उनले सांसद बनाउन अध्यक्षको हातमा हुने भन्दै आफुभन्दा धेरै संघर्ष गर्ने आए छोडिदिने तर अरु सांसद भए राम्रो नहुने बताएकी थिइन् ।

‘संघर्ष गरेको ७, ९ बर्ष भयो । म भन्दा संघर्ष गरेको आयो भने छोडिदिन्छु, अरु गयो भने राम्रो हुदैन । हर्क साम्पाङले पनि बुझ्नुपर्छ,’ उनले मिडियामा भनेकी छिन्,‘मलाई बन्द सुचीमा किन राख्नुभयो ? अध्यक्षको हातमा हुन्छ । म जस्तो इमान्दार माछेलाई गाली खुलाउने, उहाँलाई यो ठाउँमा पुर्याउन यो समलाको हात कति छ , हेप्ने हो ? अरु पदको लोभमा आएको छ, उनीहरु चै हतारमा माथि जाने । त्यही भएर समला जानुपर्छ माथि ।’
पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राई (साम्पाङ)लाई समानुपातिक सांसदको विवादले हैरान भएको सामाजिक सञ्जालमा उनकै अभिव्यक्तिले पनि प्रष्ट पारेको छ । साम्पाङलाई यो बिषयले निक्कै तनाव दिइरहेको उनकै अभिव्यक्तिले पनि प्रष्ट पार्छ । बिहिबार राती साम्पाङले दुई वटा पोष्ट गरेका छन्, जसमा पहिलो पोष्ट यस्तो छ,‘भात खाउ ! मेरो टाउको नखाऊ !’
पहिलो पोष्ट स्पष्ट नभएपनि अर्को पोष्टमा भने साम्पाङले ‘समानुपातिक बिषयमा रोइलो गर्ने जति सबैलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गर्नेछु ! हद भो !’ भनेर लेखेका छन् । यसले प्रष्ट के पारेको छ भने समानुपातिकबारे लफडा एवं रोइलो गर्ने समला राई एक्लो होइनन्, अरु पनि छन्।
१६ औं नम्बरकी समलाको दाबी कति उचित ?
आफुलाई समानुपातिक सांसद बनाउनुपर्ने अभिव्यक्ति दिइरहेकी समला राई बन्द सुचीमा भने १६ औं नम्बरमा छिन् । आदिबासी जनजातितर्फको यो सुचीले उनी सांसद बन्ने सम्भावना छैन ।
श्रम सँस्कृतिले प्रत्यक्षतर्फ ३ सिट नै आदिबासी जनजाति उम्मेद्वारले जितेको छ । त्यसैले अब समानुपातिकतर्फको ४ सिटमा क्लष्टर मिलाएर सांसद छान्नुपर्ने हुन्छ । पार्टीले ३३ प्रतिशत अनिवार्य महिला सांसद बनाउनुपर्ने हुँदा पनि आदिबासी जनजाति क्लष्टरबाट न्युन सम्भावना छ ।
किनभने प्रत्यक्षबाट आदिबासी जनजाति पुरुषको प्रतिनिधित्व भैसकेको हुनाले कि त खसआर्यको प्रतिनिधित्व समेत गराउने गरि खसआर्यबाट महिला बनाउनुपर्ने हुन्छ, वा दलित, मधेशी मुस्लिमतर्फको कोटाबाट महिला बनाउनुपर्ने हुन्छ । आदिबासी जनजाति महिलाबाट नै बनाउदा पनि बन्द सुचीमा पहिलो नम्बरमा रहेकी मकवानपुरकी मन्दिरा मोक्तान सांसद हुनेछिन् ।
यस्तै, दलित महिलाबाट सुर्खेतकी राधिका रम्तेल, थारु महिलाबाट कैलालीकी सरस्वती चौधरी, मुस्लिम महिलाबाट महोत्तरीकी सफिना खातुन, मधेशी महिलाबाट सर्लाहीकी रेणुदेवीको नाम पहिलो नम्बरमा छ । पार्टीले क्लष्टर मिलाएर २ जना महिला छान्नुपर्दा पहिलो नम्बरमा रहेका यिनै मध्येबाट सांसद बन्नेछन् ।






