धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रिक्त रहेको उपकुलपति नियुक्तीको प्रक्रिया पारदर्शी हुनुपर्ने माग गरिएको छ ।

प्रतिष्ठानस्थित चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजले एक प्रेश विज्ञप्ती जारी गर्दै छनौट प्रक्रिया पारदर्शी गर्न सरकारसँग माग गरेको छ । उपकुलपति नियुक्तीको लागि तीन जनाको नाम सिफारिश भएको एक साता बितिसक्दा पनि औपचारिकरुपमा नाम सार्वजनिक भएको छैन । सहकुलपति एवं स्वास्थ्यमन्त्री भानुभक्त ढकाल अध्यक्ष रहेको तीन सदस्यीय समितिले गत साता आइतबार नै कुलपति एवं प्रधानमन्त्री समक्ष ३ जना प्राध्यापकहरुको नाम सिफारिश गरेको थियो ।

विभिन्न सञ्चारमाध्यमहरुमा विराट मेडिकल कलेजका सञ्चालक एवं मुटु रोग बिशेषज्ञ प्रा.डा.ज्ञानेन्द्र गिरीसँगै प्रतिष्ठानकै कार्यवाहक उपकुलपति प्रा.डा.गुरु खनाल र मेडिसिन विभाग प्रमुख एवं मुटु रोग तथा मृगौला रोग बिशेषज्ञ प्रा.डा. सञ्जिव शर्मा सिफारिश भएको समाचारहरु आइरहेका छन् । प्रतिष्ठानका चिकित्सक एवं कर्मचारीहरुले नियुक्ती प्रक्रिया पारदर्शी नभएको भन्दै असन्तुष्टी जनाएका छन् । सुशासनको पहिलो कडी पारदर्शिता भएको उल्लेख गर्दै समाजले भनेको छ,‘उपकुलपति छनोट गर्दा विश्वविद्यालयको भेउ पाउने(पुर्वउपकुलपति, योजना आयोगका प्रमुख इत्यादी), तत् सम्बन्धी अनुभव भएका, निष्पक्ष विज्ञहरुको छनोट समिति बनाएर छान्दा मात्र उपयुक्त पदाधिकारी छान्न सकिन्छ ।’

उपकुलपति नियुक्तीको लागि सहकुलपतिको अध्यक्षतामा कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पुषमा ३ सदस्यीय सुझाव समिति गठन गरेका थिए । समिति गठन भएपछि स्वास्थ्यमन्त्रालयले योग्यता पुरा भएकाहरुलाई आवेदन दिन आह्वान गरेको थियो । समिति एवं मन्त्रालयले पनि अहिलेसम्म कति जनाले आवेदन दिए भन्ने पनि सार्वजनिक गरेको छैन । केही सञ्चारमाध्यमहरुले १६ जनाको सुची सार्वजनिक गरेपनि आधारिकता पुष्टि भएको छैन भने उपकुलपतिको लागि नाम सिफारिश भएका ३ जनाबारे पनि अन्योल कायमै छ । ‘तीन जनाको नाम मिडियाहरुबाट सुनिरहेका छौं, तर कसले कुन मापदण्ड पुरा गरेको हो, वा उनीहरु के आधारमा सिफारिशमा परेका हुन् भन्ने जानकारी अहिलेसम्म दिइएको छैन,’कल्याण समाजका अध्यक्ष डा.विष्णु पोखरेलले भने,‘बाहिर सुनिए जस्तै आफ्नो मान्छे नै नियुक्ती गर्नु थियो भने यत्रो समय र प्रक्रिया किन खर्च गर्नु ?’

समाजले प्रतिष्ठान २६ बर्ष पुरानो स्थापित संस्था भएकोले अहिलेको अवस्थामा आफ्नो संस्था बुझ्ने, आफ्नै संस्थामा लामो अनुभव भएको, समस्याहरुसँग जानिफकार रहेको गैरराजनीतिक व्यक्तिलाई उपकुलपति नियुक्ती गर्दा उपयुक्त हुने जनाएको छ । यस्तै, अध्ययन, अध्यापन, अनुसन्धान र स्वास्थ्य सेवामा पनि दख्खल भएको प्रतिष्ठानकै प्राज्ञ प्राध्यापक हुनुपर्ने समाजको विज्ञप्तीमा उल्लेख छ । उपकुलपतिमा सिफरिश भएको भनिएका डा.गिरीलाई स्वास्थ्यमन्त्रीले उपकुलपति बनाउन चाहेको चर्चा छ । यस्तै, प्रतिष्ठानका हाल कार्यवाहक उपकुलपति डा.खनाललाई नियुक्ती गर्न नेकपाको दबाब छ भने अर्का चिकित्सक डा.शर्मा अन्र्तराष्ट्रियस्तरमा ख्यातीप्राप्त दक्ष एवं इमान्दार बिशेषज्ञ चिकित्सक भएपनि उनको राजनीतिक पहुँच कम छ ।

साभार: नागरिक दैनिक

bpkihs-press-release