धरान : ईलाका प्रहरी कार्यालय धरान परिसरमा निर्माणाधिन हिरासत भवनको प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारी र आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले अवलोकन गरेका छन् । त्यसक्रममा मन्त्री कार्कीले भवन निर्माण पुरा गर्न मन्त्रालयबाट बजेट उपलब्ध गराउने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

प्रदेशकै नमुना हिरासत भवन निर्माणाधिन अवस्थामा रहेको छ । यो हिरासत भवनको २०७५ साउनमा मन्त्री कार्कीले नै सिलान्यास गरेका थिए । भवन जनसहभागितासँगै प्रदेश र स्थानीय सरकार(धरान)को लगानीमा निर्माण भइरहेको हो । तर, अहिले भवन निर्माण कार्य बजेट अभावले रोकिएको छ । सभामुख भण्डारीले भवन निर्माण सम्पन्न गर्नको लागि सरकारबाट थप सहयोग हुनुपर्ने बताएका थिए ।

मन्त्री कार्कीले चालु आर्थिक बर्षमा पनि बजेट व्यवस्था गर्ने र आगामी आर्थिक बर्षमा निर्माण सम्पन्न हुने गरी बजेट विनियोजन गर्ने बताए । ‘यो हिरासत भवनलाई हामीले प्रदेशकै नमुना भवनकोरुपमा लिएका छौं । यस्तै मोरङ र झापामा पनि बनाउन चाहन्छौं । त्यसैले यो भवन जति छिटो बन्छ, त्यति राम्रो हुन्छ,’मन्त्री कार्कीले भने । भवनको अवलोकनमा प्रदेश सांसद उमिता बराइली, सावित्री जोशी, धरानका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदीलगायतको पनि सहभागिता रहेको थियो ।

hirasat3

हिरासत भवनको लागत स्टिमेट कुल २ करोड ७८ लाख रुपैयामा रहेको छ । हालसम्म प्रदेश सरकार, धरान उपमहानगरपालिका, सहयोगी दाताहरुमार्फतबाट कुल १ करोड २० लाख ९६ हजार ८ सय ३५ रुपैया आम्दानी भएको र १ करोड २० लाख ७२ हजार ६ सय ४१ रुपैया खर्च भइसकेको कोषाध्यक्ष सुनिता केसी राईले जानकारी दिइन् । भवनको लागि प्रदेश सरकारबाट ४० लाख, प्रदेश सांसद विकास कोषबाट १० लाख, उपमहानगरपालिकाबाट ८ लाख बजेट आएको छ ।

विभिन्न आरोपमा पक्राउ परेकाहरुलाई अदालत र प्रशासनबाट दोषी ठहर नभएसम्मको लागि सहजरुपमा राख्न हिरासत भवन निर्माण गरिएको हो । अहिले इलाका प्रहरी कार्यालयभित्र रहेको हिरासत कक्ष ज्यादै साँघुरो छ । क्षमताभन्दा दोब्बर कैदीहरु भएकोले कोचिएर बस्छन् भने दिसापिसाब गर्न पनि समस्या छ । जाडो र गर्मी दुवै मौषममा कैदीहरुको अवस्था दयनीय हुने गरेको छ । हाल निर्माण भइरहेको हिरासत खुला, अभियोग अनुसार अलगै राख्ने व्यवस्था छ भने ट्वाइलेट, बाथरुम पनि सुविधा रहेको छ ।

hirasat

भवनको निर्माण २०७७ सालभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको निर्माण समितिका अध्यक्ष मीन सुब्बाले बताए । उनका अनुसार भवन ९ वटा कोठाको बन्नेछ । महिला र पुरुषको छुट्टा छुट्टै हिरासत कक्ष हुनेछ भने घटना वा अपराधको प्रकृति अनुसार अलग अलग कोठामा कैदीहरुलाई राखिनेछ । ‘कोही लागुऔषधमा पक्राउ परेका हुन्छन्, कोही गाडी दुर्घटना परेका चालक हुन्छन्, कोही हत्यामा पक्राउ परेका हुन्छन्, कोही सामान्य झगडा भएका हुन्छन्,’अध्यक्ष सुब्बाले भने,‘सबैलाई एउटै कोठामा राख्न उचित हुदैन, त्यसैले व्यवस्थित हिरासतको खाँचो महसुस गरेर बनाइरहेका छौं ।’

hirasat1