धरान: धरान १४ स्थित दन्तकाली मन्दिरमा सोमबार धुमधामले वडादशैंको फूलपाती भित्र्याइएको छ ।
दन्तकालीमा फूलपाती भित्र्याउन मोरङको याङ्शिलास्थित कालीशक्ति गणबाट नेपाली सेनाको टोली ब्याण्ड बाजासहित आएको थियो । फूलपाती भित्र्याउन आएको सेनाले दन्तकालीसँगै बुढासुब्बा, पाँचकन्या र पिण्डेश्वर मन्दिरमा पनि सलामीसमेत दिएको थियो । फूलपाती भित्र्याउन दन्तकाली मन्दिरबाट शोभायात्रा गरेर बुढासुब्बा, पिण्डेश्वर मन्दिर पनि परिक्रमा गरिएको थियो ।
पहिल्यै नवपत्रिका (फूलपाती) खोज्न गएका तीन जना पूजारीहरुले संकलन गरेको फूलपाती पिण्डेश्वर मन्दिरबाट डोलीमा राखेर दन्तकालीमा भित्र्याइएको थियो । दन्तकाली मन्दिरमा फूलपाती भित्र्याउनुअघि बोकाको बलीसमेत दिइएको थियो । दन्तकालीमा फूलपाती भित्र्याएपछि सेनाले पनि फूलपाती लिएर गएको थियो ।
भिडियो:
बुद्धिजिवि डा.राजेन्द्र शर्माका अनुसार वडा दशैंको सातौं दिनमा फूलपाती (नवपत्रिकाहरु) पूजा घरमा वा शक्तिपिठमा भित्र्याउने चलन गोरखाका शाहवंशीय राजाको पालामा रहेको थियो । गोरखाली शाहवंशले काठमाण्डौं उपत्यकामा विजय पाएपछि हनुमानढोकामा दरबार सारेको र त्यहाँको पूजाघरमा गोरखाबाट नै फूलपाती हर्षबढाई गर्दै भित्र्याउने चलन शुरु भएको डा.शर्माले बताए ।
‘यो प्रचलन गोर्खाका शाहवंशले काठमाण्डौं जितेपछि दरबार हनुमानढोका सरेर पूजाघर बन्यो, र त्यहाँ गोरखाबाट नै पूजाघरमा फूलपाती भित्र्याउने चलन शुरु भएको हो,’ डा.शर्माले भने,‘गोरखामा पूजाघरमा भित्र्याउने चलन थियो, तर दरबार हनुमानढोका सरेपछि हर्षबढाई गरेर पूजाघरमा भित्र्याउने चलन भयो ।’