धरान: पर्यटकीयस्थलहरुको प्रचार तथा पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले धनुकटाको साँगुरीगढी ५ स्थित पर्यटकीयस्थल डाँडाबजारमा महोत्सव हुने भएको छ ।

यही फागुन २४ गतेदेखि २७ गतेसम्म डाँडाबजारस्थित भानु माविको मैदानमा महोत्सव आयोजना हुने भएको हो । महोत्सव मुल आयोजक समितिले बिहिबार धरानको बुढासुब्बा फुटसलमा पत्रकार सम्मेलन गर्दै आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन हुने लक्ष्य राखेर महोत्व गर्न लागेको जानकारी दिएको छ । महोत्सवले डाँडाबजारको होटल व्यवसाय, पर्यटन, होम स्टे, कृषि र सँस्कृतिको पनि प्रर्वद्धन हुने अपेक्षा राखिएको आयोजक समितिका अध्यक्ष राजकुमार लिम्बुले जानकारी दिए ।

डाँडाबजारमा होम स्टे पनि सञ्चालनमा रहेको छ । ध्वजे डाँडा चर्चित पर्यटकीय गन्तव्य हो । यहाँबाट बिहानै सुर्योदयको मनोरम दृष्य देख्न सकिन्छ भने तराईका विभिन्न जिल्लाहरुको पनि अवोलकन गर्न सकिन्छ । मौषम खुलेको बेला हिमश्रृंखलाहरु पनि देख्न सकिन्छ । नजिकै लाप्चेटारस्थित अजंगको वरको रुख पनि डाँडाबजारको प्रमुख आकर्षण रहेको छ । ध्वजे डाँडाबाट प्याराग्लाइडिङको पनि सफल परीक्षण भइसकेको छ । यस्तै, बाटोमा पर्ने ओख्रे भ्यु टावर, भगीश्वर पार्क, हात्तिढुंगे, जनजाति पार्क, गिद्धेभिरलगायत पनि पर्यटकीय आकर्षण हुने अध्यक्ष लिम्बुले बताए ।

dada

महोत्सवकै अवसरमा डाँडाबजार गोल्डकप फुटबल प्रतियोगिता पनि आयोजना हुनेछ । फुटवलमा धनकुटाका विभिन्न क्लब र धरानको क्लबसहित ८ टिम सहभागी हुनेछ । विजेताले नगद १ लाख, उपविजेताले ५० हजार पुरस्कार पाउनेछ । यस्तै, चर्चित गायिका मेलिना राईको बिशेष प्रस्तुती हुनेछ भने अन्य राष्ट्रिय तथा स्थानीय कलाकारहरुको पनि सांगीतिक प्रस्तुती हुनेछ । स्टलहरुमा मौलिक खाद्यान्नहरु हुनेछ भने हुर्रा, च्याब्रुङलगायत सँस्कृति प्रर्दशनी हुनेछ ।

महोत्सवको प्रचारकै लागि बिहिबार नेपाल फोटो पत्रकार महासंघ र महोत्सव आयोजकबीच मैत्रीपुर्ण फुटसल पनि भएको थियो । फुटसलमा दुवै टिमले बराबरी ९–९ गोल गरेका थिए । यस्तै, पत्रकार सम्मेलनमा नै अमोरा फेसन स्टोर धरानका सञ्चालक नयन राईले डाँडाबजर फुटबल टिमका कोच र मेनेजरलाई ट्रयाक सुट प्रदान गरेका थिए भने वार्सिलोना मेन्स वेयर धरान ९ ले खेलाडीहरुलाई जर्सी प्रदान गरेको थियो ।

footsul