धरान: प्रमुख प्रशासकीय अधिकृत अम्बिका प्रसाद चौलागाईले आफुलाई विभेद र ज्यादती गरेको भन्दै विरोध स्वरुप धरान उपमहानगरपालिकाका कार्यपालिका सदस्य विकास भाटीे धर्नामा बसेका छन् ।
आज (शुक्रबार) कार्यालय खुलेपछि भाटीले अधिकृत चौलागाईको कार्यकक्ष बाहिर केही समय धर्ना बसेर विरोध जनाएका हुन् । भाटीले आफ्नो स्वीकृत कार्यक्रमको टिप्पणी आदेश भएको फाइल प्रक्रियाअनुसार सम्झौताको लागि लिएर जादा विना कारण आक्रोश सहित तल्लोस्तरको शब्द प्रयोग गरेर काम नगर्ने जवाफ दिएको बताए ।
भाटीका अनुसार धरान ९ स्थित गौतम पथलाई तिहार चाडको बेला स्थानीय, व्यापारी र उपमहानगर मिलेर झिलिमिलि बत्तिले सजाउने गरिएको छ । यो बर्ष पनि आफ्नो कार्यपालिका सदस्यको योजनाबाट ४ लाख र आर्थिक विकास महाशाखाबाट थप २ लाख बजेट बिनियोजन भएको थियो ।
‘बर्षेनी हुदै आएको कार्यक्रम हो । यो बर्ष पनि टिप्पणी आदेश सबै भएर पनि सम्झौता गर्न मान्नुभएन,’ भाटीले भने,‘मैले आग्रह गर्दा पनि यस्तो झास्मिसे फाइल म गर्दिन्न भन्नुभयो । मलाई पहिलो दिनदेखि नै हेप्नुभएको हो । कालो अनुहार देखेर हो वा मधेशी मुलको मान्छे भनेर हेपेको हो, त्यो मैले फिल गरेको छुँ ।’

कार्यपालिका सदस्य भाटीले आफुले त्यही ज्यादती र हेपाहा प्रवृत्ति विरुद्ध विरोध स्वरुप धर्नामा बसेको पनि बताए । ‘मलाई व्यक्तिगतरुपमा चोट पुर्याएको छ, ममाथि दुव्र्यवहार भएको छ, त्यसविरुद्ध मेरो धर्ना हो,’ उनले भने । बर्षेनी हुने कार्यक्रम अधिकृत चौलागाईकै कारण यो बर्ष हुन नसकेको र स्थानीयबासी, व्यापारीहरु निराश हुनुपरेको भाटीको भनाई छ ।
‘हाम्रो देखेर इटहरीको संगीत चोक झिलिमिलि भएको छ, तर यहाँ चै हुनसकेन,’ उनले थपे,‘गौतमपथ झिलिमिलि हुदा छुट्टै आकर्षण हुन्थ्यो, मानिसहरु राती घुम्न आउथे । व्यापार बढेर व्यवसायी पनि खुशी हुन्थे, तर यो बर्ष हुन सकेन ।’
कार्यपालिका सदस्य भाटी वडा नं ९ निवासी हुन् । उनी नेकपा एमालेबाट कार्यपालिका सदस्यमा निवार्चित भएका हुन् । भाटी धर्नामा बसिरहदा अधिकृत चौगालाई भने कार्यालय आएका थिएनन् । उनीसँगको विवाद र आरोपबारे प्रतिक्रिया लिनखोज्दा प्रमुख प्रशासकीय अधिकृत चौलागाईको कार्यालयको मोवाइल नम्बर स्वीचअफ भएकोले सम्पर्क हुन सकेन । उनी धरानमा दोस्रो पटक प्रमुख प्रशासकीय अधिकृतकोरुपमा आएका हुन् ।








