सुनसरी: आज भ्याण्लेन्टाइन डे अर्थात प्रणय दिवस । सामाजिक सञ्जाल, मिडिया सबैतिर यही प्रणय दिवसको चर्चा छ । युवा जोडी, विवाहित जोडीहरुको तस्बिरले सामाजिक सञ्जाल भरिएको छ । तर, यो प्रणय दिवस मात्र प्रेमिल जोडीहरुको लागि संयोग नहुदो रहेछ । इटहरीका मेयर द्धारिकलाल चौधरी र नेकपा नेता रामप्रसाद चौलागाईको लागि पनि आज प्रणय दिवस सुखद संयोग भइदियो ।

मेयर चौधरी र नेता चौलागाईबीच केही समयदेखि वाकयुद्ध चलिरहेको थियो । दुवैबीचको कटुवा कतिसम्म बढेको थियो भने गत साता इटहरीमा आयोजित एक सार्वजनिक कार्यक्रममा मेयर चौधरीले चौलागाईलाई पक्राउ गर्न नगर प्रहरी परिचालन गरेका थिए । नेता चौलागाईले सार्वजनिक जग्गा मिचेर घर बनाएको भन्दै मेयर चौधरीले नगर प्रहरीलाई पक्राउ गर्न आदेश दिएका थिए । मेयर चौधरी आफुविरुद्ध खनिए पछि नेता चौलागाईले पनि सामाजिक सञ्जालय फेसबुकमार्फत मेयर चौधरीमाथि विभिन्न आरोप लगाएका थिए भने पत्रकार सम्मेलन पनि बोलाएका थिए । तर, नेताहरुको अनुरोधमा पत्रकार सम्मेलन उनले स्थगित गरेका थिए ।

एकअर्काविरुद्ध मर्यादाविपरीत आरोप प्रत्यारोपमा उत्रिएका तिनै मेयर चौधरी र नेता चौलागाईबीच मिलान भएको छ, त्यो पनि आज भ्यालेन्टाइन डे अर्थात प्रणय दिवसको दिन । दुवैले हात मिलाएको तस्बिर अहिले सामाजिक सञ्चालमा छाएको छ । यद्यपी, सार्वजनिक भएको तस्बिरमा नेता चौलागाई त्यति खुशी देखिदैनन् । नेकपाका केन्द्रीय र प्रदेशका नेताहरुको पहलमा दुवैबीच सहमति भएको हो । दुवैलाई नेकपा स्थायी कमिटि सदस्य तथा प्रदेश नं १ इञ्चार्ज भिम आचार्य, केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला इञ्चार्ज धर्म निरौला, जिल्ला सहइञ्चार्ज निर्मल वराल, प्रदेश सचिव सुरेशकुमार राई,सुनसरी जिल्ला सचिव रमेश बस्नेतलगायत नेताहरुले छलफलमा राखेर मिलाएका हुन् । दुवै नेताको मिलन भएको तस्बिर सार्वजनिक भएपछि नेता, कार्यकर्ताहरुले खुशी प्रकट गर्दै टिप्पणीहरु गरिरहेका छन् ।

swarik-ramprasad-itri