धरान : विगतमा छुट्टै पहिचान र ईतिहास बोकेको ठाउँ बाँझगरालाई लोप हुन नदिने उद्देश्यले धरान बाँझगरा रन २०८३ आयोजना हुने भएको छ । 

बाँझगरा क्षेत्रको इतिहासलाई जीवन्त बनाइराख्न स्थानीयबासीहरु एक समिति गठन गरेर धरान बाँझगरा रन आयोजना गर्ने तयारीमा छन् । आयोजक समितिले आइतबार धरान १५ मा पत्रकार सम्मेलन गर्दे यही मंसिर २० गते विभिन्न उमेर समुहमा ३ र ५ किलोमिटर रन आयोजना गर्ने जानकारी दिएको छ । 

समितिका अध्यक्ष सुवास खवासका अनुसार यसपटक पहिलो बर्ष भएकोले वडा ४, ५,६ र १५ नम्बर वडालाई समेटेर बाँझगरास्तरीय रनकोरुपमा हुनेछ भने आगामी बर्षहरुमा क्रमशः नगर, जिल्ला, प्रदेश र राष्ट्रियस्तरको रन हुनेछ । ‘पछि बार्षिकरुपमा नियमित राष्ट्रियस्तरको रन गर्ने लक्ष्य राखिएको छ,’ खवासले भने । 

 आयोजकका अनुसार अण्डर १६ उमेर समुहतर्फ महिला र पुरुष ३ किलोमिटर रन हुनेछ । दुवै विधामा प्रथम, दोस्रो र तेस्रो हुने महिला र पुरुष खेलाडीले क्रमशः नगद ५ हजार, ३ हजार र २ हजार पुरस्कार पाउनेछन् । यस्तै, खुल्ला स्पर्धा (१७-३९ बर्ष)मा पुरुष र महिलाको ५ किलोमिटर रन हुनेछ । प्रथम, दोस्रो र तेस्रो हुने महिला र पुरुष खेलाडीले क्रमशः जनही नगद १० हजार, ६ हजार र ४ हजार पुरस्कार पाउनेछन् । यसैगरि, भेट्रान(४०-६० बर्ष) पुरुषमा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः नगद ५ हजार, ३ हजार र २ हजार पुरस्कार पाउनेछन् । 

baajhagara run1

प्रतिस्पर्धाको लागि वडा नं ४, ५, ६ र १५ का बासिन्दा हुनुपर्नेछ भने विद्यालयमा पढ्ने विद्यार्थीहरु जहाँको भएपनि विद्यालयबाट फर्म भरेर आउदा प्रतिस्पर्धा गर्न पाउनेछन् । अन्यले भने सहभागिताकोरुपमा मात्र रहनेछन् । सहभागिता मात्र भएकाहरुलाई पनि प्रमाणपत्र र मेडल दिइने आयोजकले जनाएको छ । 

कार्यक्रमस्थल धरान १५ एभरेष्टलाइनस्थित भलिवल खेल मैदान रहनेछ । सोहीस्थानबाट ३ किलोमिटर दौड शुरु भएर काठे पुल, निराजन बस्ती,सदन स्कुल हुँदै पुनः भलिवल खेल मैदानमा पुगेर टुंगिनेछ भने ५ किलोमिटर दौड भने काठे पुल, निराजन बस्ती, सदन रोड, सहिद मार्ग, श्यामचोक र मिलन चोक हुँदै भलिबल खेल मैदानमा पुगेर टुंगिने रुट बनाइएको पनि अध्यक्ष खवासले जानकारी दिए।

बाँझगरा रनलाई व्यवस्थित गर्न वडा नं ४, ५, ६ र १५ नम्बर वडा कार्यालयहरु पदेन संरक्षक र सबै वडाहरुमा गठित टोल विकास संस्थाहरु धरान बाँझगरा रनको पदेन सदस्य रहने पनि अध्यक्ष खवासले बताए । 

bajhagara run

आधुनिक धरानको मानव बस्ती विसं १९५० को दशकदेखि बस्न शुरु भएको इतिहास छ । धरानमा चन्द्रशमशेरको पालामा ‘चन्द्रनगर’ र जुद्ध शमशेरको पालामा ‘जुद्ध नगर’ नामको बस्ती बसालिएको थियो । 

पछि २०१७ कार्तिक ३० गते बाँझगरा गाउँपञ्चायत गठन भएर वडा १ र २ नगर पञ्चायतमा गाँभिएर बाँकी ३, ४,५, ६, ७, ८ र ९ वडाहरु पञ्चकन्या गाविस कायम भई भएको इतिहास छ । पछिल्लो समय भने बाँझगरा भन्ने स्थान हाल धरान उपमहानगर वडा नं ४, ५, ६ र १५ वडाकोरुपमा अवस्थित रहेको छ । 

वडा नं १५ का अध्यक्ष नरेश इवारमले इतिहासमा बाँझोगरा नाम रहेको र अहिले सहर भएको बताए । बाँझोगराको पहिचान र इतिहास कायम राख्न वडा कार्यालयले रनलाई सहयोग गर्ने पनि उनले प्रतिवद्धता जनाएका थिए ।