धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपति नियुक्ती प्रक्रिया अलमलमा परेको छ ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकाल संयोजक रहेको समितिले उपकुलपतिको लागि तीन जनाको नाम प्रधानमन्त्री तथा कुलपति समक्ष सिफारिश गरेको दुईसाता बितिसकेको छ । तर, उपकुलपति नियुक्ती हुन सकेको छैन । उपकुलपति नियुक्ती प्रक्रिया लम्बिदा प्रतिष्ठानको समस्याहरु सतहमा देखिन थालेको छ । खास गरी प्रतिष्ठानका चिकित्सक र कर्मचारीहरुको तलव वृद्धि र पदोन्नतिको बिषय पनि अन्योलग्रस्त भएपछि असन्तुष्टी बाहिर आउन थालेको छ । चिकित्सक र कर्मचारीहरुको हकहितको लागि गठन भएको संस्थाले आफ्ना मागहरु कडारुपमा प्रतिष्ठान व्यवस्थापन समक्ष राख्न थालेका छन् ।

प्रतिष्ठानको नर्सिङ,प्राविधिक तथा प्रशासनिक कर्मचारी समन्वय समितिले मंगलबार बैठक बसेर विभिन्न ५ बुँदे माग अघि सारेको छ । समितिका संयोजक महेश्वर राईले आज जारी गरेको विज्ञप्तीमा तलव वृद्धि कर्मचारीहरुको दैनिक जिवन निर्वाहको बिषय भएकोले राजनीतिक र स्वार्थको गन्ध नल्याई तत्काल वृद्धि गर्न माग गरिएको छ । उनले उपकुलपति नियुक्ती प्रक्रिया दुई महिना बित्न लाग्दा पनि सम्पन्न नहुदा असर देखिन थालेको भन्दै प्रक्रिया तत्काल अघि बढाउन पनि प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीलाई आग्रह पनि गरेका छन् ।

bpkihs-press

यस्तै, समितिले केही पदहरुमा मात्र हालै तलवमान वृद्धिप्रति ध्यानाकर्षण गराउदै सिनेटले व्यवस्था गरे वमोजिम छनौट समितिलाई औपचारिकरुपमा तत्काल गठन गरी स्थायी नियुक्ती, आन्तरिक बढुवा तथा फाइल बढुवाको विज्ञापन प्रकाशन गर्न पनि माग गरिएको छ । यसैगरि, समितिले ज्यालादारी कार्यरत कर्मचारीहरुलाई निश्चित समय पछि करारमा, करारमा भएकालाई परफरमेन्स करारमा र परफरमेन्स करारमा निश्चित अवधि पछि स्थायी सेवामा, समुहगतरुपमा लैजाने प्रक्रिया र प्रणालीको व्यवस्था गरेर एकैपटक तहगत र समुहगतरुपमा सम्पुर्ण कर्मचारीहरुको वृत्तिविकास गर्न पनि माग गरिएको छ । समितिले कर्मचारी कल्याण समाजको चुनाव यथासीघ्र गराउन पनि माग गरेको छ ।

शिक्षक कल्याण समाजको २ बुँदे माग

चिकित्सा तथा दन्तचिकित्सा शिक्षक कल्याण समाजले पनि प्रतिष्ठान व्यवस्थापनसँग २ सुत्रिय माग अघि सारेको छ । समाजका अध्यक्ष डा.विष्णु पोख्रेलका अनुसार सिनेटले निर्णय गरेअनुसार २० प्रतिशत तलब वृद्धि र पदोन्नति प्रक्रिया शुरु गर्नुपर्ने समाजको माग रहेको छ । समाजको मंगलबार बसेको बैठकले पदाधिकारी र कार्यकारिणी समितिसँग संयुक्त छलफल गर्ने र माग सम्बोधन नभए आन्दोलन शुरु गर्ने निर्णय गरिएको जानकारी दिए ।

के भन्छन् कार्यवाहक उपकुलपति ?

guru-khanal

प्रतिष्ठानका कार्यवाहक उपकुलपति प्रा.डा.गुरु खनालले भने सिनेटले २० प्रतिशतसम्म तल वृद्धि गर्नसक्ने निर्णय गरेपनि प्रक्रिया शुरु गर्ने बेला उपकुलपति नियुक्तीको प्रक्रिया शुरु भएकोले तत्काल तलव वृद्धिको प्रक्रिया रोक्नुपरेको बताए । ‘तलब कतिसम्म बढाउन सकिन्छ, कुन प्रक्रियाबाट जाने भनेर निर्णय गर्ने बेला नियुक्तीको कुरा आयो । बजेट सरकारले नदिने र वीपीले आफैले व्यवस्थापन गर्नुपर्ने हुन्छ, नयाँ उपकुलपति पनि हाइहाल्ने अवस्था थियो,र प्रक्रिया रोकियो,’डा.खनालले भने,‘तर अहिले नियुक्ती प्रक्रिया नै रोकिएकोले अलमल भयो ।’