धरान: प्रभु बैंक धरान १० के रन ८ औं नेवा च्यारिटीको सम्पुर्ण तयारी पुरा भएको छ ।

आयोजक धरान रनले अन्तिम पत्रकार सम्मेलन आयोजना गर्दै अब शनिबार बिहान साढे ७ बजे रिबन काट्ने समयको मात्र प्रतिक्षा रहेको जनायो । दौडमा यसपाली ४ हजार विभिन्न उमेर समुहका धावकधाविकाहरु सहभागी हुने अध्यक्ष रमु राईले जानकारी दिए । ‘यसपाली ४ हजारले दौडनेछन्, हामीले सम्पुर्ण तयारी गरिसकेका छौं,’उनले भने । उनका अनुसार गत बर्ष ३४ सय हाराहारीमा सहभागी थिए ।

कार्यक्रमका प्रमुख अतिथि धरानका मेयर तिलक राई पनि दौडमा सहभागी हुनेछन् भने प्रमुख आकर्षणकोरुपमा रहेकी मिस नेपाल वल्र्ड २०१८ विजेता श्रृंखला खतिवडा पनि दौडिनेछिन् । मेयर राई १० किलोमिटर नै दौडनेछन् भने खतिवडा ३ किलोमिटर दौडने आयोजकले जनाएको छ । यसपटक वंगलादेश, भारतबाट पनि दौडमा सहभागी हुने आयोजकले जनाएको छ । बेलायत र हङकङमा रहने नेपालीहरु बर्षेनी दौडमा आउने गरेका छन् ।

दौडमा १२ बर्ष सम्म सहभागीहरुले ३ किलोमिटर मात्र दौडनेछन् भने अन्य उमेर समुहले १० किलोमिटर दौडनेछन् । खुल्लातर्फ महिला र पुरुष पहिलो, दोस्रो र तेस्रो खेलाडीले क्रमशः ५० हजार, ३० हजार र २० हजार पुरस्कार पाउनेछन् । १२ वर्षसम्म,१६ वर्षसम्मका र ४० वर्षमाथीका भेट्रान विजेताहरुले क्रमशः नगद ७ हजार, ५ हजार र ३ हजार पाउनेछन् ।